7/10/2011

“घर फर्क वा वैधानिक होउ” योजना स्थगित

मलेसिया सरकारले गैरकानूनी रूपमा रहेका विदेशी कामदारलाई आफ्नो मुलुक फर्कन वा वैध हुन ल्याएको योजना तत्कालको लागि स्थगित गरेको जनाएको छ । दुई महिना पहिले जुलाई ११ देखि सो योजना सुरु हुने भनिए पनि गत हप्ता मात्रै एक हप्ताको लागि योजना सारेको थियो ।

तर, मलेसिया सरकारले प्राविधिक कठिनाई उत्पन्न भएको भन्दै योजना स्थगित गरेको छ । कामदारहरु भाग्ने क्रम बढेकाले योजना स्थगित गरेको जनाएको छ । कामदारको बायोमेट्रिक प्रणाली (औठा छाप) लिएपछि मात्र योजना लागु गर्ने तयारीमा मलेसियाली सरकार रहेको त्यहाँ स्थित दूतावासले जानकारी दिएको छ ।
आफू कार्यरत कम्पनीबाट भागेर गैरकानूनी रुपमा काम गर्ने प्रवृत्ति बढेकाले योजना रोकिएको दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार फर्निचर प्लान्टेसन लगायतका क्षेत्रमा काम गर्ने विदेशी कामदार भाग्ने क्रम बढेको छ । मलेसियाका उपप्रधानमन्त्री मुहायद्दीन यासिनले घर फर्क वा वैधानिक होउ नीतिले समस्या थपेको बताएका छन् ।
झण्डै २० लाख अवैध विदेशी कामदार रहेको मलेसियाले साउदी अरब र कुवेतमा एम्नेष्टी खुले लगत्तै यो अवसर खुला गर्ने घोषणा गरेको थियो । मलेसियामा एक लाख बढी नेपाली गैरकानूनी रुपमा कार्यरत रहेका छन् । वैध योजनाले ती नेपाली कामदार पनि लाभान्वित हुने अपेक्षा गरिएको भएपनि मलेसियाली सरकारको पछिल्लो निर्णयले सो योजनामा स्वदेश फर्कन चाहने नेपालीहरुको सपना अनिश्चित बनेको छ । मलेसियाले सो योजना लागू गर्न विदेशी कामदारको लगत संकलनका लागि एजेन्ट नियुक्ति गरिसकेको थियो । मलेसियामा इन्डोनेसिया, बंगलादेश, नेपाल, भियतनाम, श्रीलंका लगायतका मुलुकका २० लाख कामदारहरु अवैध रुपमा कार्यरत छन् ।

No comments:

Pages