सिङ्गापुर आज जुन स्थानमा छ, त्यसलाई यो अवस्थामा पु¥याउन नेपालीको ठूलो हात रहेको इतिहास हाल सिङ्गापुर प्रहरीमा कार्यरत नेपालीहरू दाबी गर्छन् । तर, केही समययता आएर भने सिङ्गापुर बनाउनमा महत्वपूर्ण योगदान दिने नेपालीको इतिहासलाई सिङ्गापुर सरकारले बिर्सने मात्र होइन त्यहाँबाट नेपालीकै नाम र उपस्थितिलाई शून्य नै बनाउने लक्ष्य लिएको देखिँदै छ ।
सिङ्गापुर अध्यागमनले अन्य मुलुकका नागरिकको तुलनामा नेपालीमाथि विशेष कडाइ गर्ने गरेबाट पनि यस आशङ्कामा बल पुगेको छ । नेपालबाट हवाईजहाजमार्फत जानेभन्दा मलेसियाबाट जाने नेपाली यतिबेला सिङ्गापुरका प्रहरीको ज्यादतिपूर्ण केरकारका कारण आजित र दिक्क हुने गरेका छन् । ‘यो नाङ्लो ठटाएर हात्ती तर्साउने खेल पनि हो, बोर्डरमा कडाइ गरेपछि त्यो सन्देश नेपाल जाने अनि नेपाली सिङ्गापुर आउने क्रम घट्ने रणनीतिका साथ सिङ्गापुर सरकारले प्रहरीमार्फत यस्तो कडाइ अपनाएको हो,’ लामो समयदेखि सिङ्गापुरमा ट्राभल एजेन्सी सञ्चालन गरेर बसेका राधेश्याम विकको कथन छ ।अन्य देशका नागरिकलाईभन्दा नेपालीको हरियो पासपोर्टमाथि विशेष निगरानी राख्ने गर्छ सिङ्गापुर अध्यागमनले । त्यसमाथि पाँच जनाभन्दा बढीको नेपाली समूह एकसाथ सिङ्गापुर जान लागेको छ भने समूहलाई नै सिङ्गापुर प्रवेशमा रोक लगाउन थालिएको छ । नेपाली जुलुस, धर्ना र आमसभामा सिपालु भएका गलत सन्देश सिङ्गापुरमा प्रवाहित छ । त्यसैले गर्दा पनि त्यस्ता क्रियाकलापबाट मुक्ति पाएको र कानुनअनुरूप पनि सिङ्गापुरमा धर्ना, जुलुस गर्न नपाइने भएकोले त्यहाँको सरकारले नेपालीमाथि कडाइ अपनाएको बताइन्छ । एक आँकडाअनुसार दुई वर्ष अगाडिसम्म मात्र पनि सिङ्गापुरमा चालीस हजारभन्दा बढी संख्यामा नेपाली थिए । तर, आज त्यो घटेर दश हजारको हाराहारीमा खुम्चिएको छ । ‘कुनै गल्ती नगरे पनि नेपाली भन्नासाथ नेपाल फर्काइदिने कोसिस गरिन्छ । सिङ्गापुरमै स्थायी बसोबास गर्नेबाहेकका नेपालीलाई निकै गाह्रो छ,’ सिङ्गापुरमा कार्यरत स्याङ्जाकी नमिता लम्सालले भनिन् । यतिबेला सिङ्गापुर आफैंमा आर्थिक रूपमा सबल भइसकेको र अब विदेशीहरूको संख्या घटाउँदा आफ्नै देशका नागरिकले काम पाउने नीति लिएपछि क्रमशः सिङ्गापुरमा विदेशीको संख्या घट्न थालेको छ । सिङ्गापुरमा रहेका नेपालीको अवस्था यस्तो भएको थाहा पाउँदा पनि लुकेर काम गर्नुपर्ने उनीहरूको वास्तविकताबारे छर्लंग थाहा हुँदाहुँदै पनि नेपालमा भने सिङ्गापुर पठाइदिने सपना देखाएर रकम असुल्ने दलालको कमी देखिएको छैन । विशेष गरेर नेपाली महिलालाई सिङ्गापुरमा काम दिलाइदिने प्रलोभनमा लाखौँ उठाउने दलालबाट सतर्क रहन सिङ्गापुरमा भेटिएका महिलाले आग्रह गरेका छन् । ‘नेपालबाट उडे तापनि सिङ्गापुर एयरपोर्टमा महिलामाथि निकै कडाइ छ । त्यहाँबाट कुनै पनि महिला सिङ्गापुर छिर्नै सक्दैनन् । यो कुरा बुझेपछि मात्र सिङ्गापुर आउनू,’ सिङ्गापुरस्थित एक भारतीय रेस्टुरेन्टमा कार्यत महिलाको कथन छ । सिङ्गापुर सरकारले एकतर्फी रूपमा नेपालीमाथि नियोजित रूपमा कडाइ गर्न थालेपछि अब स्थानीय नेपालीले सिङ्गापुर सरकारको आधिकारिक धारणा बुझ्नका लागि नेपाल सरकारसँग आग्रह गर्न भएका छन् । सिङ्गापुरमा खोलिएका नेपाली संघ–संस्थाहरूले यो मामिलामा खासै चासो नदेखाएपछि सिङ्गापुरमै स्थायी बसोबासको अधिकार पाएका नेपालीले पनि अन्य नेपालीलाई साथ दिने भएका छन् ।
No comments:
Post a Comment