दोहा– सरकारी अस्पष्टताका कारण विदामा घर गएर फर्कने खाडीमा कार्यरत कामदारले झण्झट भोग्नुपरेको छ । विदामा घर गएर फर्कनेहरूलाई अध्यागमनमा कर्मचारीहरूले रोजगार करारनामा (इम्प्वाइमेन्ट कन्ट्रयाक्ट)का साथै विमा रकम बुझाएको कागजात र श्रमस्विकृति पत्र माग्ने गरेको तथा यी कागजपत्र साथमा नहुनेहरूलाई झण्झटिलो प्रकृयाका लागि बाध्य पारेको पिडितहरूले बताएका छन् ।
कतिपयलाई यात्राको अवसर नै नदिई फर्काइएको पनि दावि गरिएको छ । सामान्यताः एकपटक बैदेशिक रोजगारीमा गएर सम्बन्धित देशको आवास अनुमति (रेजिडेन्ट परिमिट) कार्य प्राप्त गरिसकेका र विदामा घर गएकाहरूले श्रम स्विकृतिको कागजात साथमा लिने गरेका हुँदैनन् । यहाँस्थित नेपाली दूतावासले पनि गुनासाहरूका आधारमा आवश्यक जनाकारी माग गर्दै सम्बन्धित निकायलाई पत्राचार गरेको छ ।वैदेशिक रोजगारीका सिलसिलामा खाडीमा कार्यरत प्रशस्तै युवाहरूले सो समस्या भोग्दै आएको कतारस्थित नेपाली समुदायमाझ सकृय एक युवा श्रीकृष्ण भट्टराईले बताए । ‘मैले त आफ्नो बारेमा स्पष्ट पारें र कुनै समस्या भएन तर बोल्न नसक्नेहरू समस्यामा परेका छन्’ गोरखा सेवा समाजका अध्यक्ष पनि रहेका भट्टराईले विदा मनाएर दोहा फर्केपछि राजधानीलाई भने– ‘पाए घुस माग्छन्, नपाए कागजात नभई हुन्न लिएर आउनोस् भन्छन्, सेवा गर्न बसेकाहरूले उल्टै सास्ती दिनेगर्छन् ।’ यसअघि कतारमा कार्यरत अर्को एक पेशाकर्मी गणेश वानियाँले पनि सोही प्रकृतिको अनुभव सुनाएका थिए ।
सरकारले निर्दिष्ट गरेको बैधानिक बाटोबाट बैदेशिक रोजगारमा गएकाहरूले पहिलोपटक जाँदा नै विमा रकम बुझाइसकेको हुने हुँदा विदा मनाएर फर्कने क्रममा उनीहरूसंग पुन सो रकम असुल्नु कानुनसंगत नरहेको जानकारहरूले बताएका छन् । ‘विमा अनलिमिटेडसमयका लागि भएको हुँदा उनीहरूसंगफेरि लिनु नहुने हो’ एक कर्मचारीले भने– ‘नयाँ आउनेलाई मात्रै विमा शुल्क लिइनुपर्ने हो, पुरानालाई पनि लिइयो भन्दा आश्चर्य लागेको छ ।’ बैदेशिक रोजगारीको यात्रा शुरु गर्दा विविध कारणले विमा गर्न नपाएकाहरूलाई भने यो एक अवसर पनि हुनसक्ने उनले बताए ।
वैदेशिक रोजगारीका क्रममा पाएको विदा मनाएर काममा फर्कन लागेका कामदारले रोजगार करारनामा पुनः बनाउनुपर्ने, आवश्यक रकम तिरेर श्रम स्वीकृतिपत्र लिनुपर्ने र विमा पनि गर्नुपर्ने जस्ता झन्झटिला व्यवस्था अनिवार्य गरिएको जानकारीमा आएपनि सो वारे सम्बन्धित निकायबाट दूतावासमा कुनै पनि औपचारिक जानकारी पठाइएको भने छैन । ‘हामीलाई जानकारी आएको भए सचेत गराउने थियौं’ राजदूतले भने– ‘औपचारिक जानकारी आएको छैन तर कामदारले यो समस्या प¥यो भनेर गुनासो गर्ने गरेका छन् ।’ दूतावासले गत सोमवार नै आवश्यक जानकारी माग गर्दै पत्राचार गरेको र आवश्यक जानकारी आएपछि कतारवासी आम नेपालीजनलाई सार्वजनिक सुचनामार्फत स्पष्ट पार्ने राजदूतले बताए ।
रोजगार करारनामा, विमा रकम बुझाएको कागजात र श्रमस्विकृति पत्रका सक्कलप्रति साथमा नरहेका कामदारहरूलाई मोटो शुल्क असुलेर तत्काल ती कागजातका नक्कल बनाइदिने र सम्बन्धित गन्तब्यतर्फ जान दिने गरेको आफुले प्रत्यक्ष देखेको भट्टराईले बताए । ‘होटल होटलमा पुगेर त्यस्ता कागज बनाइदिन्छन्, त्यस्तो अवस्थामा ५ हजार शुल्क लिने गरेको पाइएको छ’ उनले भने । सो गैरधन्दामा वैदेशिक रोजगार विभागका कर्मचारीहरूकै पनि संलग्नतामा हुने गरेको सरोकारवालाले बताएका छन् ।
दीपक पौडेल
No comments:
Post a Comment