7/10/2011

सहचारी नियुक्तिमा मन्त्रीको मनोमानी

हरेक क्षेत्रमा नियुक्ति गर्दा मन्त्रीहरूको दादागिरी भल्ने गरेको सर्वविदितै छ । आफ्ना मान्छेलाई वा मोटो रकम लिएर नियुक्ति गर्ने काममा मन्त्रीहरूले राम्रो सफलता हात पारेका छन् । पछिल्लो समय श्रम सहचारी नियुक्तिमा निकै चासो देखाएका श्रम मन्त्री मोहम्मद इस्तियाक राईले पनि सोही सफलता हात पार्न कम्मर कसेर लागेका छन् ।
उनले वैदेशिक रोजगार एन विपरीत सहचारी नियुक्ति गर्न लागेको रहस्योद्घाटन भएको छ । मन्त्रालयले इजरायल, ओमान, कुवेत जापान र दक्षिण कोरियामा सहचारी नियुक्तिको तयारी गरिरहेको छ ।
मन्त्री राईको ठाडो आदेशमा जापान र हङकङमा समेत सहचारी नियुक्ति गर्न लागिनुले ठूलो चलखेल भएको आशंका गरिएको छ । वैदेशिक रोजगार ऐन र नियमावलीमा ५ हजार भन्दा बढी कामदार भएको मुलुकमा अनिवार्य सहचारी नियुक्ति गर्नुपर्ने व्यवस्था रहेको छ तर जापानस्थित नेपाली दूतावास स्रोतले हाल त्यहाँ ३० नेपाली श्रम स्वीकृति लिएर कार्यरत रहेको र १०० जनाले मात्र श्रम स्वीकृति पाएका जनाएको छ ।
त्यस्तै, मकाउ समेत जिम्मेवारी पाउने गरी सहचारी नियुक्ति गर्न लागिएको हङकङमा ६ सय नेपालीले श्रम स्वीकृति लिएका छन् र मकाउमा २ सयले । यसरी नियम विपरीत सहचारी पठाउन मन्त्री राईले चालेको कदमले उनी पनि आलम पथमा हिडेको चर्चा चलिरहेको छ ।
यसअघिको सरकारका श्रममन्त्री मोहम्मद अफताब आलामले सहचारी नियुक्तिमा मोनोपोली गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्ति रोक्का गरेको थियो । गत महिना अख्तियारले नियुक्ति फुकुवा गरेपछि मन्त्री राईले सहचारी नियुक्ति गर्न तदारुकता देखाएका थिए ।
अख्तियारले सहचारी नियुक्तिमा देखिएको पछिल्लो काण्डलाई गम्भीर रुपमा लिएको र छानबिन भइरहेको जनाएको छ । यसअघि पनि ऐन नियम उल्लंघन गर्दै नियुक्ति गर्न लागिएको प्रमाणित भएपछि रोक्का गरेका थियौं, यदि फेरि त्यस्तै भएको पाईएमा पुनः रोक्का गर्नेछौं, अख्तियार स्रोतले भन्यो – कारवाहीको लागि अख्तियारले तयारी गरिरहेको छ । सरकारले हालसम्म मलेसिया, कतार, साउदी अरब र युएईमा सहचारी पठाइसकेको छ ।

No comments:

Pages