7/16/2011

बिदामा आएका कामदारलाई राहत

काठमाडौं । वैदेशिक रोजगार विभागले बिदामा घर आएर पुनः काममा जाने कामदारले श्रम स्वीकृति लिन रोजगार सम्झौतापत्र र स्वास्थ्य परीक्षण प्रमाणपत्र बुझाउनु नपर्ने व्यवस्था गरेको छ ।
पहिलो पटकको सम्झौता म्याद सकिएर बिदामा आएका धेरै कामदारले पुनः जान सम्झौतापत्र आवश्यक पर्ने व्यवस्था कडाइका साथ लागू गरेपछि बढेको विरोधको कारण वैदेशिक रोजगार विभागले तत्कालका लागि यो व्यवस्था हटाएको हो । तर पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भने कायम रहेको छ ।
अहिले जानकारी नभएकाले सम्झौतापत्र नल्याएको कामदारले धेरै पैसा तिरेर दलालमार्फत वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिने गरेका थिए । कर्मचारीले पनि मिलेमतोमा दलाल मार्फत नक्कली सम्झौतामा श्रम स्वीकृति दिने गरेका थिए ।
यसले विभागमा दलालको चलखेल उच्च भएको र नियम प्रभावकारी नहुँदा नक्कली बनाउन लगाउँदै बढी पैसामा भए पनि दलालमार्फत श्रम स्वीकृति लिनेको संख्या उच्च भएपछि विभागले तत्कालका लागि यो व्यवस्था रोकेको हो ।
विभागले तत्काललाई यो व्यवस्था हटाए पनि श्रम मन्त्रालयले भने केही महिनाका लागि स्थगित गर्ने तयारी गरेको छ । मन्त्रालयले बिहीबार निश्चित अवधिमा सबैलाई जानकारी गराई पुनः लागू गर्ने निर्णय गरी विभागलाई पत्र पठाउने तयारी गरेको छ । श्रममन्त्री महोम्मद इस्तियाक राईले धेरै व्यक्तिबाट नयाँ व्यवस्थाबारे गुनासो आएको भन्दै तत्कालका लागि बिदामा आएर पुनः विदेश जानेले रोजगार सम्झौतापत्र बुझाउने व्यवस्था रोक्न भनेको बताए ।
ुमैले २ महिनाको म्याद दिएर नयाँ व्यवस्था रोक्न भनेको छु,ु उनले भने, ुयसले रोजगारीमा जाने कामदारलाई समस्या देखिएको छ । त्यसैले अब हामी सूचना प्रवाहमा केन्द्रित हुने छौं ।ु
विभागले बुधबार बिहानदेखि रोजगार सम्झौता र स्वास्थ्य परीक्षण प्रमाणपत्र नभए पनि बिदामा आएकालाई श्रम स्वीकृति दिने आन्तरिक निर्णय गरेर काम सुरु गरेको छ । ुहामीले तत्कालका लागि अघिल्लो अनुमति सकिएका र बिदाबाट फर्किन लागेका कामदारलाई रोजगार सम्झौतापत्र र स्वास्थ्य परीक्षणको प्रमाणपत्र बुझाउनु नपर्ने व्यवस्था गरेका छौं,ु विभागका निर्देशक लालबाबु कवारीले भने, ुबिमा अवधि र कल्याणकारी कोषको अवधि सकिएको भए त्यो पुनः गरेको प्रमाण भने बुझाउनु पर्छ ।ु उनले विभागको निर्णय तत्कालका लागि भएकाले मन्त्रालयबाट थप जानकारी आए त्यसैअनुसार काम गर्ने बताए ।
रोजगार सम्झौता आवश्यक भएको बताएपछि बिदामा आएका तर रोजगारदाता कम्पनीसँगको सम्झौता नल्याएका कामदार मारमा परेको थिए । मंगलबार विभागको कार्यालय श्रम स्वीकृति लिनुपर्छ भनेपछि बिदामा आएर तेस्रो पटक मलेसियामा जान लागेको एक कामदाले यस्तै समस्या भोगे । रोजगारदाता कम्पनीसँगको सम्झौतापत्र आवश्यक भएको जानकारी नभएकाले नल्याएको हुँदा बुझाउन नसक्ने बताएपछि विभागका कर्मचारीले उनलाई श्रम स्वीकृति दिन नसक्ने बताए ।
ुकर्मचारीले नदिने भनेपछि बाहिर निस्कँदा दलालले काम गरिदिने बताए,ु उनले भने, ु३ घन्टामा ती व्यक्ति बिमाको २ हजार ७ सय ५० र कल्याणकारी कोषको १ हजार रुपैयाँको बिल दिएर काम भएको बताए । तर मैले ६ हजार ५ सय रुपैयाँ तिर्नुपर्‍यो ।ु उनले आफैं जाँदा नहुने तर विभागका बाहिर बस्ने दलालले सहजै गर्ने अवस्थाले कर्मचारीसँगको मिलेमतो देखिएको उनले बताए ।
विभागका निर्देशक कवारीले आफूहरूले सक्दो दलाल नियन्त्रण गर्न खोजेको बताए । उनले पहिलो पटकको अवधि सकिएर आएका कामदारले बिमा र कल्याणकारी कोषमा रकम बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
उनले नक्कली कागजातमा श्रम स्वीकृति दिएको बारे श्रम मन्त्रालयले मागेको स्पष्टीकरण पनि बुझाएको बताएका छन् ।

No comments:

Pages