7/16/2011

कति छन् न्युर्योकमा नेपाली

प्रदीप थापामगर
न्यूयोर्क । अनौपचारिकरुपमा न्यूयोर्क शहरमा करिव चालिस हजार नेपालीको वसोवास रहेको अनुमान गरिएपनि अमेरिकी सरकारले सन् २०१० को अप्रिल महिनामा लिएको जनगणनामा जम्मा ६ हजार १ सय ८७ नेपाली रहेको देखिएको छ ।
अमेरिकी तथ्याङ्क बिभागले जारी गरेको जनगणनाको नतिजामा न्यूयोर्क शहरमा ६ हजार १ सय ८७ र त्यसको आसपासमा १ हजार ५ सय ३८ गरि जम्मा ७ हजार ७ सय २५ नेपाली बसोवास गर्ने गरेको देखिएको छ । वास्तवमै नेपाली संख्या न्यूयोर्कमा तीस हजारबढी भएको अनुमान गरिन्छ । यो अनौपचारिक तथ्याङ्कलाई आधार मान्ने हो भने न्यूयोर्कमा बस्ने २० प्रतिशत नेपाली पनि अमेरिकी जनगणनामा सहभागी नभएको देखिन्छ । अमेरिकी सरकारको आह्वानअनुरुप जनगणनामा सहभागी नभएका कारण नेपालीको संख्या कम देखिएको नेपाली कम्प्लीट काउन्ट कमिटिकी अध्यक्ष तथा अधिकार नामक संस्थाकी कार्यकारी निर्देशक लुना रञ्जित बताउनुहुन्छ । बढिभन्दा बढी नेपाली जनगणनामा सहभागी होउन भनेर यसक्षेत्रमा रहेका नेपाली संघसंस्था तथा संचारमाध्यमसमेतको संयुक्त पहलमा जनचेतना अभियान थालिएको थियो । तर, आफुहरुको अथक प्रयासका वीचमा पनि निकै सानो संख्यामा नेपालीहरु जनगणनामा सहभागी हुनुले आफुहरु दुःखित भएको बताउनुहुन्छ अधिकारीकी कम्युनिटी अर्गनाइजर नर्बदा क्षेत्री ।
नेपालीहरुको न्यून सहभागीताले आगामी दशबर्षसम्म अमेरिकी सरकारबाट नेपाली समुदायले पाउने सुबिधामा असर पर्ने अध्यक्ष रञ्जितले बताउनुभयो । यस्तै नेपालीहरु जनसंख्या दर्ता अभियानमा नछुटुन भनेर खटिनुभएकी क्षेत्रीले न्यूयोर्कक्षेत्रमा रहेका नेपालीहरुका संघसंस्थाले सक्रियतापूर्वक काम नगरेका कारण अपेक्षित नतिजा आउन नसकेको बताउनुहुन्छ । क्षेत्रीले शेर्पा, गुरुङ र मनाङका नेपालीहरु मात्रको संख्या पनि योभन्दा धेरै रहेको बताउँदै जनगणनाको नतिजाले आफू अत्यन्त दुःखित बनेको बताउनुभयो ।
न्यूयोर्क शहरमा अन्य मुलकका नागरिकको तथ्याङक पनि सार्वजनिक भएको छ । जसमा भारतीय लगायत आप्रवासीको संख्या अत्यन्तै धेरै देखिन्छ । गत बर्ष लिइएको जनगणनाअनुसार गत बिहीवार न्यूयोर्क, मिनिसोटा, अरिजोना, ओक्लोहामा र भर्मोन्टको जनसंख्या सार्वजनिक गरिएको हो । अन्य राज्यको परिणाम पनि क्रमशः सार्वजनिक हुने अमेरिकी तथ्याङ्क बिभागले जनाएको छ । शेर्पा किदुङ अमेरिकाका अध्यक्ष छोङ्बा शेर्पाले आफ्नो संस्थामा झन्डै २५ सयदेखी ३ हजार शेर्पाहरु रहेको बताउनुभयो । उता रिज्वूड नेपालीज सोसाइटीका अध्यक्ष श्री पराजुलीका अनुसार रिज्वूडमा झन्डै १२ सय नेपालीहरुको बसोबास रहेको छ ।
अर्को तथ्य चाँही गैर कानुनीरुपमा रहेका अधिकांस नेपालीहरुले सरकारी तवरबाटै कुनै कार्यबाही नहुने सुचना जारी हुँदाहुँदै पनि जनगणनामा सहभागि नभएको हुन सक्ने सम्भावना देखिएको छ ।

कुन देशका आप्रबासीहरुको जनसंख्या कति ?
उक्त जनगणनाको नतिजाअनुसार एसियन मुलुकहरुबाट न्यू योर्क शहरमा बसोबास गर्ने आप्रबासीहरुको कूल जनसंख्या ११ लाख १७ हजार ६ सय ८ मध्ये नेपालीहरुको जनसंख्या (६ हजार १८७ ० ११ औं नम्बरमा रहेको तथ्याङ्कले देखाएको छ । सबैभन्दा बढी जनसंख्या चिनियाँहरुको ५ लाख ४ सय ३४ जना रहेको छ । त्यसैगरी, दोश्रो नम्बरमा भारतीयहरुको संख्या २ लाख ३२ हजार ६ सय ९६ जना रहेको छ । तेश्रोमा कोरियनको १ लाख २ हजार ८ सय २०, चौंथोमा फिलिपिनो ७८ हजार ३० जना, पाँचौंमा बङ्गलादेशी ६१ हजार ७ सय ८८ जना, छैठौंमा पाकिस्तानी ४६ हजार ३ सय ६९ जना, सातौंमा जापानी ३१ हजार ७४२ जना; आठौंमा भियतनामीको १६ हजार ३ सय ७८ जना; नबौंमा ताइवानीको १३ हजार ६ सय ८२ जना; दशौंमा थाईको ७ हजार २ सय ४४ जना र एघारौंमा नेपालीको ६ हजार १ सय ८७ जना रहेको छ ।
यसैगरि इन्डोनेसियन ४ हजार ७ सय ९१,श्रीलङ्कन ४ हजार ३ सय ६९, बर्मिज ४ हजार १ सय ३२, मलेसियन ३ हजार २ सय २०, क्याम्बोडियन २ हजार ५ सय ९१, लावोसियन ६ सय ६४, भुटानी ३ सय ८८ जना र मोङका ८३ जना रहेको हालै सार्वजनि गरिएको प्रतिबेदनमा उल्लेख छ ।
 नेपालीहरु शहरमै
अझ रोचक तथ्य त के छ भने नेपालीहरु न्यूयोर्क शहरबाहिर जम्मा १ हजार ५ सय ३८ जना बसोबास गरेको देखिन्छ । यो संख्यासहित नेपालीहरुको न्यू योर्क राज्यमा कूल जनसंख्या ७ हजार ७ सय २५ पुगेको हो । न्यू योर्क शहर बाहिर बसोबास गर्ने ठाउँलाई सब–अर्बन एरिया भनिन्छ र नेपालीहरु ति ईलाकामा बस्न नसक्नु यातायातको अभाब र न्यून आर्थिक अवस्था कारण हुन सक्दछ । जबकि न्यू योर्क शहरमा २ लाख ३२ हजार ६९६ जना रहेका भारतीयहरु न्यू योर्क शहर बाहिर बसोबास गर्नेहरुको जनसंख्या १ लाख ३६ हजार ७१ जना रहेको छ । भारतीयहरुको न्यू योर्क राज्यभरको कूल संख्या ३ लाख ६८ हजार ७८७ जना रहेको छ ।

No comments:

Pages