7/15/2011

बजेटमा गैरआवासीय नेपाली र बैदेशिक रोजगार

काठमाडौ । सरकारले आज प्रस्तुत गरेको बजेटमा विदेशमा रहेका नेपाली अर्थात गैरआवासीय नेपालीका विषयमा तीन ठाउँमा उल्लेख गरेको छ। जसमा लगानी, उत्पादन र शिक्षासँग सम्बन्धित रहेका छन् ।
बजेटको बुँदा नम्बर ११६ देशभरीका इच्छुक नेपाली नागरिकलाई संलग्न गरी एउटा ठूलो परियोजना सञ्चालन गरिनेछ उल्लेख गर्दै गैरआवासीय नेपालीहरुलाई १ सय मेगावाट विद्युत उत्पादन गर्ने परियोजनामा लगानी गर्न आह्वान गरिएको छ।
त्यस्तै बुँदा नम्बर १३९ मा ग्रामीण क्षेत्रमा व्यवसायिक कृषि, प्राथमिक उद्योगहरु, साना जलविद्युत लगायतका पूर्वाधार सेवामा लगानी गर्न विशेष गरी शहर तथा विदेशमा कार्यरत पूँजी, ज्ञान, सीप र अनुभव भएका आवासीय तथा गैर आवासीय नेपालीहरुलाई गाउँमा लगानी गर्न प्रोत्साहित गर्ने ब्यवस्था मिलाएको उल्लेख छ।
त्यसैगरी आज सार्वजनिक बजेटको बुँदा नम्बर २६४ मा बढ्दो डिजिटल डिभाइडबाट सिर्जना हुने आर्थिक सामाजिक असमानता घटाउन सार्वजनिक विद्यालयका पाठ्यपुस्तकलाई डिजिटलाइज्ड गर्न, इन्टरनेट सेवा उपलब्ध गराउन र विश्वका उत्कृष्ट विद्यालयमा पहुँच बढाउन अभिभावक, स्थानीय समुदाय र गैर आवासीय नेपालीसँग सहकार्य गरिनेछ उल्लेख गरिएको छ। बजेटका अन्य क्षेत्रमा गैरआवासीय नेपाली अर्थात विश्वभर रहेका नेपालीका विषयमा कतै उल्लेख गरिएको छैन ।

त्यसैगरी बजेटको बुँदा नम्बर १४४ मा  वैदेशिक रोजगारमा जाने महिला कामदारलाई लक्षित गरी सचेतना, कल्याणकारी र सुरक्षित तथा मर्यादित काम सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ । महिला कामदारहरुलाई वैदेशिक रोजगारमा जानु अघि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट निःशुल्क रुपमा अभिमुखीकरण तालिम दिइने र यस अतिरिक्त वैदेशिक रोजगारमा गएका कामदार तथा तिनको परिवारलाई लक्षित गरी कल्याणकारी कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख छ ।
त्यस्तै बुँदा नम्बर १४९ मा वैदेशिक रोजगारीलाई सुरक्षित एवम् मर्यादित तुल्याउँदै दुर्गम र विपन्न वर्गको पहुँच सुनिश्चित गरिनेछ । विप्रेषण आयलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन थप पूँजी निर्माण गर्ने र बढी प्रतिफल दिने उत्पादनशील क्षेत्रहरुमा लगानी गर्न उत्प्रेरित गर्ने उद्देश्यले लगानीका उपयुक्त प्रस्तावहरु सहितको राष्ट्रिय लगानी कार्ययोजना तर्जुमा गर्न उच्चस्तरीय कार्यदल गठन गरिने उल्लेख गरिएको छ।
बुँदा नम्बर १५० मा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सक्षम र प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय माग अनुरुपको सीप र ज्ञान अभिवृद्धि गर्न तालिम प्रदान गरिनेछ । यसमा गरीबीको रेखामुनि रहेका वर्ग, क्षेत्र, लिङ्ग, जातजाति तथा द्वन्द्व प्रभावित क्षेत्रका युवा युवतीहरुलाई विशेष प्राथमिकता दिने ब्यवस्था मिलाइने उल्लेख छ भने बुँदा नम्बर १५१मा  वैदेशिक रोजगारीको बढी सम्भावना रहेका मुख्य गन्तब्य देशहरुसँग आवश्यकता अनुसार नयाँ श्रम सम्झौता गर्नुका साथै भएका सम्झौताहरुको पुनरावलोकन गरिनेछ । वैदेशिक रोजगारीमा जाने ब्यक्ति र रोजगारदाता बीच भएका सम्झौताको पालना भए नभएको अनुगमन गरिने उल्लेख छ । बुँदा नम्बर १५२ मा वैदेशिक रोजगारीमा हुने ठगी लगायतका विकृति नियन्त्रण गर्न यस्तो कार्यमा संलग्न हुने जो कोहिलाई कानून बमोजिम कडा कारवाही गरिनेछ । वैदेशिक रोजगारमा गई अलपत्र परेका नेपाली श्रमिकहरुको शीघ्र उद्धार गरिनेछ । विदेशबाट फर्किएका यस्ता ब्यक्तिहरुलाई स्वदेशमा नै काम गर्ने वातावरण तयार गर्न श्रमिक पुनर्एकीकरण कार्यक्रम सञ्चालन गरिने लेखिएको छ। ३८३ ख मा वैदेशिक रोजगारबाट फर्केका नेपाली यात्रुहरुले विदेशबाट आउँदा ल्याउने एल।सी।डी।, प्लाज्मा वा एल।ई।डी। टेलिभिजनमा समदरमा लाग्ने हालको महसुल दर घटाइएको छ भने च मा वैदेशिक रोजगारमा गएका कामदारहरुको रोजगारीको सिलसिलामा मृत्यु भएको अवस्थामा भुक्तानी हुने वीमा रकममा लाग्दै आएको आयकर वैदेशिक रोजगार प्रवर्द्धन वोर्ड मार्पत सोधभर्ना हुने व्यवस्था मिलाएको उल्लेख छ।

No comments:

Pages