7/16/2011

पीडितलाई सहयोग

नेपाली दूतावासमा शरणागत ५ नेपाली महिलाहरूलाई कतारमा कार्यरत एक नेपाली महिलाले सहयोग गरेकी छन् । कतार एअरवेजमा कार्यरत चेली पासाङ लामाले उनीहरूलाई खानपिनका लागि आर्थिक सहयोग गरेको नेपाली नियोगले जनाएको छ ।
नेपाली नियोगमा आफ्नो काम विशेषले आएकी लामाले शरणागत खानपिनका लागि २ सय रियाल आर्थिक सहयोग गरेको दूतावासले जनाएको छ । ‘सवैले आफुले सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सानो भएपनि सहयोग गरेकी हुँ’ उनले भनिन् । राजदूत डा. सुर्यनाथ मिश्रले चेली लामाको सहयोग प्रति कृतज्ञता जनाउँदै निरन्तरताको शुभकामना पनि दिएका छन् ।
दोहास्थित एक स्कुलमा क्लिनिरको काम गर्दे आएका पाँच नेपाली महिलाहरू कामको अधिक बोझ झेल्न नसकेको कारण भागेर गत २८ जुनमा नेपाली नियोगको शरणमा आएका थिए । पिडितहरूमा श्रीअन्तु ६ इलामकी २५ वर्षिया रचना राई, झापा वाहुनडाँगी ८ की ३० वर्षिया गोमा मगर, लुङ्गलुपा ५ पाँचथर की २० वर्षिया गीता राई, वर्दघाट ८ नवलपरासीकी २१ वर्षिया पदम कुमारी कुँवर र वाह्विसे २ सिन्धुपाल्चोककी २२ वर्षिया देउकी थापा छन् ।
उनीहरूलाई स्वदेश फिर्ती गराउन था पाउनुपर्ने तलव एवं ग्राचुटी लगायतका अन्य सुविधाहरू सम्वन्धित स्कुलवाट उपलब्ध गराउनको लागि नियोगले कानुनी प्रकृया अघि बढाएको थियो । उनीहरूलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा कतारको श्रम विभागले फैसला गरिसकेको छ । उनीहरू केहि दिनभित्रैमा घर फर्कने राजदूतले बताएका छन् ।
यस्तै, कतारस्थित नेपाली समुदायमाझ सकृय युवा अगुवा लक्ष्मण खतिवडाले नेपाली दूतावासमा शरणागत ८ नेपालीलाई २ दिनका लागि खानपिनको खर्च उपलब्ध गराएको नेपाली दूतावासले  जनाएको छ । खतिवडाले हरेक पिडितलाई २४ रियालका दरले सहयोग रकम उपलब्ध गराएको राजदूत डा. सुर्यनाथ मिश्रले बताए । कुनै पनि नेपाली पिडित दूतावासमा आएको खण्डमा आफुलाई जानकारी दिइएमा सक्दो सहयोग गर्ने प्रतिबद्वता खतिवडाले जनाएको श्रम सहचारी धु्रव कोइरालाले जनाए । राजदूतले उनको सहयोग प्रति कृतज्ञता जनाउँदै निरन्तरताको शुभकामना पनि दिएका छन् ।

No comments:

Pages