7/26/2011

साउदी सरकारले थप नेपाली कामदार लैजाने

वैदेशिक रोजगारीको मुख्य गन्तव्य रहँदै आएको साउदी अरबले आफ्नो मुलुकमा थप नेपालीलाई रोजगार दिन तयार रहेको बताएको छ ।
नेपाल भ्रमणमा रहेका नेपाल मामिला हेर्ने साउदी अरबका राजदूत डाअब्दुल्लाह अल बुसयरीले साउदीमा नेपालीहरूका लागि रोजगारीको सम्भावना रहेकाले थप नेपाली लैजान बताएका हुन् । वैदेशिक रोजगार व्यवसायी संघले सोमबार राजधानीमा आयोजना गरेको पत्रघाट भेटघाट कार्यक्रममा राजदुत डा। बुसयरीले आफ्नो मुलुकमा कामका लागि आउनुअघिसम्बन्धीत विषयमा तालिम र साउदीको कानुनका बारेमा भने जानकारी हासिल गरेर आउन सुझाव दिए । हाल बङ्गलादेशका लागि साउदी अरबका राजदूत रहेका बुसयरीले साउदी सरकार नेपालमा राजदूतावास खोल्न तयार रहेको जानकारी दिँदै त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

साउदी अरब विशेष गरी विभिन्न प्रकारका प्राविधिक क्षेत्रका नेपाली युवालाई थप रोजगारी दिन तयार रहेको भए पनि सम्बन्धित विषयका बारेमा गतिलो ज्ञान हासिल नगरी साउदी आउनेले समस्या भोग्नु परेको भन्दै राजदूत बुसयरीले त्यस्तो अवस्थाका अन्त्यका लागि नेपालमा प्रभावकारी तालिम प्रदान गराउने व्यवस्था आवश्यक रहेकोमा जोड दिए । साउदी अरबमा काम गर्ने नेपालीले राम्रो पारिश्रमिक र सेवा सुविधा नपाएको गुनासोका सम्बन्धमा उनले सीप र दक्षता नभएका नेपाली कामदार साउदी आउने र कम तलबमा पठाउने विषयलाई नेपालका वैदेशिक रोजगारीमा पठाउने संस्थाहरूले नै समाधान गर्नुपर्ने बताए । बढी तलब र सुविधाका लागि दक्ष जनशक्ति पठाउने वातावरण निर्माण गर्न उनले सुझाव दिए ।
हाल साउदीमा साउदी करिब पाँच लाख कामदार कार्यरत छन् । हालैमात्र सो मुलुकमा घरेलु कामदारका रुपमा नेपाली महिलाहरुलाई समेत निश्चित मापदण्ड पूरागरी पठाउन सरकारले अनुमति दिने तयारी गरेको छ ।
साउदीमा महिला घरेलु कामदारको सुरक्षाका प्रत्याभूतिसम्बन्धी प्रश्नको जवाफमा साउदी राजदूत बुसयरीले आफ्नो मुलुकमा कानुनी दायरामा रही काम गर्ने महिला घरेलु कामदारहरू मात्र नभएर सबै कामदारको सुरक्षाका प्रत्याभूति गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

No comments:

Pages