7/27/2011

दक्षिण कोरिया : सजिलो छैन प्रवेश

दक्षिण कोरिया । नेपाली बेरोजगार युवाहरुका लागि आकर्षक गन्तव्य । पछिल्लो समय नेपाल सरकार र कोरिया सरकारबीच नेपाली कामदार इपीएस कोटामार्फत कोरिया  लैजाने सहमति भएपपछि त नेपाली युवाहरुको कोरियाप्रतिको आकर्षण झनै बढेको छ  ।
त्यसो त तुलनात्मकरुपमा हरेक वर्ष कोरिया जाने युवाको संख्यमा वृद्धि पनि भइरहेको छ। सन् २००८ बाट कोरिया सरकारले नेपाली कामदार इपीएस प्रणालीबाट कोरिया लैजान नेपाल सरकारसँग सम्झौता गरेको हो । कोरियाले पहिलो बर्ष ४ हजार नेपालीलाई कोरिया लगेको थियो भने सन् २०१० मा ७ हजार नेपालीलाई कोरिया लाने बताइएको थियो । तर प्राविधिक कारणले ७ हजार नै नेपाली युवाहरु भने कोरिया पुगेका छैनन् । सन् २०१० मा भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने सम्पूर्ण प्रक्रिाय पुरा गरेर बसेका नेपाली कोरिया नपुगे पनि  कोरियाले सरकारले सन् २०११ का लागि नेपाली कामदारलाई कोरिया लैजानका लागि आवश्यक प्रक्रिया भने सुरु गरेको छ ।
नेपालीहरुका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरिया जानका लागि ५७ हजार बढीले कोरियन भाषा परीक्षाको फारम भरेका थिए । सन् २०११ का लागि प्राप्त कोटामा कोरिया जान उनीहरुले भाषा परीक्षाको फारम भरेका हुन् । किनभने इपीएस प्रणालीमा प्रशिक्षार्थी कामदारका रुपमा कोरिया प्रवेशका लागि अनिवार्य रुपमा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालय, इपीएस शाखाका अनुसार यो वर्षको कोरियन भाषा परीक्षा शुक्रबार र शनिबारका लागि तय गरिएको छ। यसका लागि बैशाखमै फारम भरिएको थियो ।
कोरिया जानको लागि भाषा परीक्षा उत्तीर्ण गर्नु पहिलो खुड्किलो हो । भाषा परीक्षा उत्तीर्णपछि मात्र कोरिया जाने बाटोमा उभिनसम्म पाइन्छ । किनभने भाषा परीक्षामा उत्तीर्ण हुने बित्तिकै कोरिया जाने भिषा पाइन्छ भन्ने छैन । त्यसो त कोरिया जाने बाटोमा लाइन बस्नु मात्र नभएर भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको ९० प्रतिशत सफलता प्राप्त गर्नु हो भन्छन् श्रम मन्त्रालयका अधिकारीहरु । भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको विवरण कोरियास्थित साना तथा मझ्यौला उद्योग महासंघले उद्योगीहरुलाई दिएपछि उद्योगले कामदार छनोट गर्ने गर्दछ । रोजगारदाता कम्पनीले रोजगार दिने पक्का भएपछि कोरिया जाने ढोका करिब करिब खुल्छ । तर, फारम अनुसारको कागजपत्र मिलेन, तोकिएको उमेरभन्दा बढी देखियो वा आपराधिक गतिविधिमा संलग्न रहेको पाइएमा कोरिया सरकारले भाषा परीक्षा उत्तीर्ण गरेकाहरुलाई पनि  भिषा दिंदैन् । तैपनि शुक्रबार भाषा परीक्षामा सहभागी अधिकांश प्रशिक्षार्थीले प्रश्नपत्र निकै सजिलो भएको भन्दै खुसी साटासाट गरेका थिए ।
त्यसो त शुक्रबारका दिन परीक्षा दिन गएका सबै प्रशिक्षार्र्थी भने खुसी हुन सकेनन् । श्रम मन्त्रालयले प्रशिक्षार्थीलाई ९ बजे नै आफ्नो परीक्षा केन्द्रमा जान प्रशिक्षार्थीहरुलाई निर्देशन दिए पनि केही समयमा पुग्न नसक्दा परीक्षा दिनबाटै बन्चित समेत भए । सरकारले यसपटक भाषा परीक्षा दिनका लागि १८ वटा परीक्षा केन्द्रको व्यवस्था गरेको छ । प्रत्येक परीक्षा केन्द्रमा ८ सयदेखि १२ सयसम्म प्रशिक्षार्थीले परीक्षा दिएका छन् । शुक्रबारमात्रै भानुभक्त मेमोरियल उच्च मावि परीक्षा केन्द्रमा परिक्षार्थी ढिलो पुग्दा ८५ जनाले परीक्षा दिन पाएनन् । उनीहरुलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक मुकुन्द अधिकारी ढिला आएका परिक्षार्थीले यो वर्ष परीक्षा दिन नपाउने जानकारी दिए । परीक्षा दिनुअगाडि ओरेन्टेशन कक्षामा अनिवार्य हाजिर हुनुपर्ने उनले बताए । यस पटक परीक्षा दिन छुटेकाहरु आर्को वर्ष परीक्षा दिन पनि पुरै नयाँ प्रक्रियाबाट आउनुपर्ने उनले बताए ।
त्यसो त कोरियन भाषा उत्तीर्ण गर्नका लागि श्रम मन्त्रालयले २ चरणमा परीक्षा लिएको छ । जम्मा १ घण्टा १० मिनेटको परीक्षामा ४० मिनेट रिडिङ र ३० मिनेट लिसनिङको परीक्षा लिइन्छ । कोरिया जान योग्य हुनका लागि रिडिङ र लिसनिङ दुबैमा उत्कृष्ट नम्बर ल्याउनुपर्छ । भाषा परीक्षा दिन सहभागी परिक्षार्थीकाअनुसार अहिलेसम्मको तयारीका लागि मात्रै २० हजार रुपैयाँ खर्च भएको छ । जबकी भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जानका लागि ७० हजार रुपैयाँ लाग्छ । शुक्रबार भएको परीक्षामा उमेर बढी भएकाले पनि केही परिक्षार्थी परीक्षा दिनबाट बन्चित भएका छन् । १८ वटै परीक्षा केन्दमा शुक्रबार शनिबार गरी २ चरणमा परीक्षा दिने व्यवस्था श्रम मन्त्रालयले मिलाएको छ ।
कोरिया नेपालीहरुले राम्रो आम्दानी गर्ने मुलुकमध्येमा पर्दछ । अझ कोरिया जान सरकारले तोकेअनुसारको शुल्क तिरेर सरकारी प्रक्रियामै जान पाइने एक मात्र मुलुक पनि हो । खाडीलगायतका अन्य मुलुक जान मेनपावर कम्पनी र दलालको दुहुनो गाई बन्नुपर्छ तर यहाँ त्यो समस्या छैन । त्यसैले पनि नेपालीहरुका लागि कोरिया सुरक्षित र भरपर्दो गन्तव्यका रुपमा देखिएको छ। साथै कोरियामा उनीहरु प्रशिक्षार्थीका रुपमा जाने भएकाले धनका साथै सीप र ज्ञानसमेत लिएर स्वदेश फर्कन पाउने छन् । यसले पनि धेरै युवा युवतीको सपना कोरियासँग जोडिएको छ । तर, यो वर्ष परीक्षा दिने ५० हजारमध्ये कति जना कोरियाका लागि टिकट काट्न सफल हुने हुन् त्यो भने हेर्न बाँकी नै छ।

No comments:

Pages