6/03/2011

नेपालीले अबसर पाउलान ?

जापानको श्रम बजारमा अहिले चिनियाँ कामदारको अभाव खडकिएको छ । मार्च ११ को भूकम्प र सुनामीबाट क्षतिग्रस्त बनेको फुकुशिमा विकिरण भट्टीबाट विकिरण उत्पन्न भएपछि घर र्फकने विदेसी कामदारहरुमा चिनियाँ श्रमिक सवैभन्दा धेरै थिए ।
मैनिची शिम्बुनका अनुसार स्वदेश फर्किएकाहरुमध्ये अधिकांस विदेसी श्रमिकहरुको जापानमा पुनर्गमन भैसकेको छ । तर, चिनियाँहरु भने निकै कम मात्रामा मात्र जापान फर्किए ।
सस्तो विदेसी कामदार भित्राउने उदेश्यसहित जापान सरकारले सुरु गरेको प्रशिक्षार्थी कामदार कार्यक्रम दैबीप्रकोपपछि निकै प्रभावित भएको छ । उक्त कार्यक्रममार्फत विदेसी कामदारलाई आवश्यक सिप, ज्ञान, तालिम प्राप्त गर्न मौका दिनेभन्दा पनि सस्तो श्रमिक खोज्ने अभियान भएको भन्दै धेरैले यसको आलोचना गरेका छन् । जापान खासगरी कृषि र टेक्सटाइल क्षेत्रमा कम ज्यालाका एसियाली कामदारहरुमाथि निर्भर रहेको छ । प्राकृतिक प्रकोपअघि टेक्सटाइल कम्पनीहरुमा काम गर्ने ४० हजारमध्ये ९९ प्रतिसत चिनियाँ प्रशिक्षार्थी कामदारहरु रहेको र उनीहरु विकिरण भयका कारण घर फर्केको मैनिची शिम्बुनले जनाएको छ ।
जापानमा प्रलयकारी विध्वंस हुनुअघि प्रत्येक क्षेत्रमा कम्तीमा ५ आवेदक रहेकोमा अहिले सो संख्या शून्य रहेको प्रशिक्षार्थी कामदार छनौट गर्ने दालिएनस्थित संघले जनाएको छ । चिबा प्रिफेक्चरस्थित मेरिनसम्बन्धित बस्तु प्रशोधन उद्योगमा काम गर्न प्रशिक्षण परिक्षा पास गरिसकेका ५० चिनियाँ कामदारहरु आफ्नो मनस्थिती बदली चीनमा नै बसेको अर्को प्रशिक्षण दिने संस्थाले बताएको छ । अधिकांश चिनियाँँ कामदार वयस्क भएकाले पनि उनीहरुका आमाबुबाले एक मात्र सन्तानलाई स्वास्थ्यका दृष्टिकोणले खतरनाक बनेको जापानमा काम गर्न नपठाएको बिज्ञहरुको अडकल छ । चीन सरकारले अधिक जनसंख्या भएका कारण अझै पनि एक(बच्चा नीति कायमै राखेको छ ।
टोकियोस्थित सिलाइबुनाई फ्याक्ट्रीले कार्यरत चिनियाँ कामदार घर फर्किएपछि अति महँगो तलबमा जापानी कामदार लिन बाध्य भएको छ । कूल मागको ७० प्रतिशत मात्र पूर्ति गर्न सकिएको उद्योगका अध्यक्षले गुनासो गरे । सबै चिनियाँ कामदारले जागिर छोडेपछि टोहोकु क्षेत्रको टेक्सटाइल उद्योगले पनि उनीहरुलाई काममै राख्न गरेको प्रयास असफल बनेको छ । ६ सयभन्दा बढी चिनियाँ श्रमिकले जागिर छोडेपछि रामेन चेन हिदाकाया फास्ट फुड उद्योगले आफ्नो देशभर सञ्चालित २ सय ५० रेस्टुरेन्टहरुमा सेवा समयावधिमा कटौती गरेको छ । यसरी चिनियाँ कामदारहरुको घर र्फकने संख्या बढेपछि जापानको श्रम बजारले अन्य देशको श्रमिकबाटै काम चलाउनु पर्ने भएको छ ।
नेपालीलाई अबसर
जनस्तरमै चीन र जापानबीच बढेको दुरीले चिनियाँ कामदार र जापानी रोजगारदातावीच पनि प्रभाव पारेको थियो । जसले गर्दा पहिले पनि जापानी रोजगारदाता चिनियाँ कामदारलाई विस्थापित गर्न चाहान्थे भने चिनियाँ कामदार आफ्नै मुलकुमा बढ्दो अबसरको लाभ लिन चाहान्थे । एक हिसावले सुनामी दुवैपक्षलाई अबसरजस्तै भएको जापानी रोजगार बिश्लेषकहरु बताउँछन् ।

तर, जापानको समस्या के हो भने अन्य मुलुकबाट चिनियाँजति सस्तो कामदार ल्याउन उसले सकिरहेको छैन् । यस्तो अबस्थामा नेपाली प्रशिक्षार्थी कामदार जापानका लागि उपयुक्त बिकल्प हुनसक्ने थिए । तर, दुई बर्षदेखि निजी क्षेत्रका माध्यमबाट थालिएको प्रशिक्षार्थी कामदार आपूर्ति अहिलेसम्म उलेख्यरुपमा अघि बढ्न सकेको छैन् । करिव दुई दर्जन म्यानपावरले एक हजारजति नेपाली कामदारको माग ल्याएको भएपनि अहिलेसम्म २० जना पनि कामदार जापान पुग्न सकेका छैनन् ।
जापानमा जारी न्यून जन्मदरले गर्दा बिश्वको तेस्रो ठूलो अर्थतन्त्रलाई बर्षौसम्म बिदेशी श्रमिकको आबश्यकता पर्ने निश्चीत छ । तर, नेपाली प्रशिक्षार्थी कामदार पठाउने उपयुक्त बिधि नअपनाउँदा नेपालले जापानमा रोजगारीको अबसर गुमाउँदै गइरहेको छ ।

No comments:

Pages