5/30/2011

मकाउमा वाणिज्यदुतावास खोल्न माग

चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा रहेको नेपाली समुदायले त्यहाँ नेपाली महावाणिज्यदुतावास खोल्न माग गरेको छ ।
“हाम्रो मागले चाँडै सार्थक रुप लिने कुरामा हामी विश्वस्त छौं,” गैरआवासीय नेपाली सङ्घ (एनआरएन) मकाउका अध्यक्ष सुदर्शन थापा मगरले भन्नुभयो । राहदानी नवीकरणलगायतका कामका लागि त्यहाँका नेपाली समुदाय चीनकै अर्काे विशेष प्रशासनिक क्षेत्र हङकङसम्म धाउनुपर्ने बाध्यता छ ।
“औपचारिकरुपमा आधिकारिक कुटनीतिक नियोग खोल्ने सम्बन्धमा हामीले नेपाल र मकाउ सरकारसँग कुरा गरिसकेका छौं,” थापाले भन्नुभयो– “यो वर्षको अन्त्यसम्ममा नियोग खोल्न सक्ने सम्भावना छ ।” हङकङका लागि नेपाली महावाणिज्यदुत विनोदकुमार उपाध्यायले मकाउमा नेपाली नियोग खोल्नसक्ने सम्भावनालाई इन्कार गर्नुभएको मकाउ डेली टाइम्स पत्रिकाले जनाएको छ ।
महावाणिज्यदुत उपाध्यायले उक्त पत्रिकालाई प्रतिक्रिया दिँदै “मकाउमा कुटनीतिक नियोग खोल्ने कुनै योजना छैन” भन्नुभएको थियो । मकाउमा हालसम्म पोर्चुगल, एङ्गोला र फिलिपिन्सका मात्रै कुटनीतिक नियोग रहेका छन् ।
मकाउमा हाल करिब २ हजार नेपाली छन् । थापाका अनुसार तीमध्ये करिब दुईसय मात्रै एनआरएनका पञ्जिकृत सदस्य छन् । मकाउको सार्वजनिक सुरक्षा प्रहरीले अप्रिल महिनामा सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कमा त्यहाँ रहेका करिब १ हजार ९०० नेपालीमध्ये आधा क्यासिनो र आधा रियलस्टेट निर्माण एवम् सुरक्षामा खटिएका छन् । हालै सम्पन्न एनआरएन मकाउको दोस्रो महाधिवेशनमा त्यहाँका नेपालीले सामना गर्नुपरेका चुनौतीका बारेमा छलफल गरिएको थियो । तीमध्ये मकाउमा नेपालको कुटनीतिक नियोग स्थापनाको माग मुख्य रहेको थापाले जानकारी दिनुभयोे ।
यसैबीच एनआरएन मकाउले जापानका सुनामी पीडित जनताको सहयोगार्थ सङ्कलन गरेको २४ हजार ३०० मकाउ पेक्टा (करिब २ लाख २० हजार रुपैयाँ) महाधिवेशनमा भाग लिन गएका एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष देवमान हिराचनलाई हस्तान्तरण गरेको छ ।

No comments:

Pages