वैदेशिक रोजगारका लागि साउदी अरब गएका नेपालीले अबदेखि ६ वर्षभन्दा बढी काम गर्न नपाउने भएका छन्।
साउदीले ६ वर्षभन्दा बढी समय बिताएका विदेशी कामदारको श्रम स्वीकृति नवीकरण नगर्ने निर्णय गरेपछि यस्तो स्थिति आएको हो। साउदी नेपाली कामदारको प्रमुख गन्तब्य हो। यहाँ झन्डै ६ लाख नेपाली छन्। यसमध्ये ६ वर्षभन्दा बढी काम गर्नेको संख्या झन्डै आधा छ।त्यहाँको श्रम मन्त्रालयका प्रवक्ता हट्टाब अल एन्जीले स्थानीयलाई रोजगार दिने नीतिअनुरुप यस्तो निर्णय गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एसपिएलाई बताए।
नयाँ रोजगार नीतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। अरब मुलुकमै ठूलो अर्थतन्त्र भएको साउदीमा १० प्रतिशत नागरिक बेरोजगार छन्।
साउदीमा कामदारलाई हरियो, पहेँलो र रातो गरी तीन भागमा बाँडिएको छ। रातो र पहेँलो वर्गमा पर्ने कामदारको श्रम स्वीकृति नवीकरण गराउनु पर्दैन। यही नियम हरियो वर्गमा पर्ने कम्पनीका कामदारलाई भने लागू नहुने प्रवक्ता एन्जीले जानकारी दिए।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजुले साउदीको निर्णयले त्यहाँ कार्यरत आधा नेपाली प्रभावित हुने बताए। उनका अनुसार साउदीमा सन् १९८४ अघिदेखि नेपालीहरू कामका लागि जाने गरेका हुन्।
संघका महासचिव कुमुद खनालले साउदी जाने नेपाली कामदारको हितका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरे। यो नीतिले नयाँ कामदारलाई विदेश जाने बाटो भने खुला हुने उनले बताए।
‘वर्षौंदेखि साउदीमा काम गरेका नेपालीको अवसर खोसिन्छ,’ उनले भने, ‘तर यसले नयाँ नेपालीलाई अवसर पनि दिनेछ।’
श्रम तथा यातायात मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले साउदीको नयाँ नीतिबारे कुनै जानकारी नआएको बताए। कूटनीतिक नियोगबाट औपचारिक जानकारी आएपछि यससम्बन्धी प्रक्रिया थाल्ने उनले जानकारी दिए।
साउदी सरकारले सन् १९९४ मै निजी क्षेत्रको रोजगारमा स्थानीय नागरिकलाई प्राथमिकता दिने कार्यक्रम अघि सारेको हो। तर, निजी कम्पनीले सरकारी नियम पालना नगर्दा यो कार्यक्रम सफल हुन सकेको छैन।
त्यहाँ करिब ८० लाख विदेशी कामदार छन्। तिनले वर्षको २७ अर्ब अमेरिकी डलर रेमिटेन्सका रूपमा आफ्नो मुलुक पठाउँछन्। अधिकांश विदेशी कामदार निजी क्षेत्रमा काम गर्छन्।
उच्च बेरोजगारी रहेका अरब देशहरूमा आन्दोलन सुरु भएपछि साउदीका राजा अब्दुल्लाहले मार्च महिना ९३ अर्ब अमेरिकी डलरको राहत कार्यक्रम घोषणा गरेका थिए। उनले आन्दोलन मत्थर पार्न यस्तो प्याकेज ल्याएका हुन्।
साउदीमा ३५ नेपालीको बिचल्ली,
रोजगारका लागि साउदी अरब गएका करिब ३५ नेपाली युवा सम्झौताअनुसार काम नपाएपछि बिचल्लीमा परेका छन् । मोरङ बेलबारी निवासी विमल गौतमद्वारा सञ्चालित नेपाल गेट ओभरसिजमार्फत साउदी गएका उनीहरूलाई सहरभन्दा टाढा मरुभूमिमा लगेर राखिएको छ । अधिकांश युवाहरू झापा र मोरङका हुन् । प्रतिव्यक्ति ९० हजारभन्दा माथि रकम लिएर कम्पनीले साउदी पठाएको थियो । काठमाडौंस्थित कम्पनीको कार्यालयमा सागर निरौला भनिने विमलका भान्जालाई युवाहरूले पैसा बुझाएका थिए ।
नेपाली युवाहरू साउदी जाँदा सुपरमार्केट तथा अफिस क्लिनरका लागि भनेर सम्झौता भएको थियो । तर उनिहरूलाई साउदी पुर्याएर जोखिमपूर्ण काममा लगाएको पीडित शुक्र देवानले बताएका छन् । जोखिमपूर्ण काम गर्न नमान्दा कुटपिट गर्ने गरेको उनले गुनासो गरे । उनीहरूलाई भोकभोकै काममा लगाएपछि स्वास्थ्यमा पनि समस्या परेको छ । युवाहरूले आफूलाई घर फर्काउने व्यवस्था मिलाउन फोनमार्फत परिवारसँग आग्रह गरेका छन् । कम्पनीका कर्मचारी सागर निरौलालाई फोन गर्दा उल्टै गालीगलौज तथा हप्कीदप्की गरेको फोनमार्फत मोरङका विशाल राईले बताए । घटनाबारे साउदीमा रहेका कम्पनीका प्रमुख विमल गौतमसँग सम्पर्क राख्दा उनीहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको बताए । तर, उनी अहिलेसम्म पीडितहरूको सम्पर्कमा आएका छैनन् । यता पीडितका आफन्तले भने कम्पनी तथा त्यसका सञ्चालकविरुद्ध श्रम कार्यालयमा मुद्दा दर्ताका लागि तयारी गरिरहेको बताएका छन् ।
No comments:
Post a Comment