5/30/2011

वैदेशिक रोजगार छाडी मौरीपालन

अर्घाखाँची जिल्लाको धनचौर गाविसका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित भएका छन्।
थोरै लगानी र कम मिहेनतबाट पनि मनग्य आम्दानी लिन पाएपछि यहाँका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका हुन्। धनचौर गाविसमा करिब एक वर्षदेखि नै मौरीपालन गर्दै आएको भएपनि १० वर्षयता भने यहाँका कृषकले व्यावसायिकरुपमै मौरीपालन गर्दै आएका छन्।
 गाविसका प्रत्येक घरमा मौरी पालिएको भएपनि वडा नं। ५, ६, ७ र ८ का कृषक भने व्यावसायिकरुपमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन्।  धनचौरमा चिउरीको जङ्गल हुनाका साथै पर्याप्त मात्रामा तोरीको खेती गरिने र मौरीका लागि उपयुक्त किसिमको हावापानीसमेत पाइने हुँदा मौरीपालन व्यवसाय निकै फस्टाएको स्थानीय बासिन्दाको भनाइ छ।
 मौरीबाट सोचे भन्दा बढी आम्दानी लिन पाएपछि युवा जमात पनि वैदेशिक रोजगार र सरकारी जागिरसमेत छाडेर मौरीपालनतर्फ आकर्षित भएका छन्।
 धनचौरमा कृषकले एउटै घरमा ५ देखि ५० घारसम्म मौरीपालन गर्दै आएका छन्। वर्षमा २ पटक मौरी घार काडेर मह निकालिने र एउटा घारमा वर्षमा १० देखि २० केजीसम्म मह पाइने कृषकको भनाइ छ।
 मुढे घारबाट मौरी व्यवसाय सञ्चालन गर्दै आएका कृषकले अहिले आधुनिक घारमा मौरी पाल्दै आएका छन्। आधुनिक घारमा मौरी पाल्दा मौरीको सुरक्षा हुने र मह उत्पादन गर्नपनि निकै सजिलो हुने भएकाले मुढे घारमा उत्पादन हुने मह भन्दा दुई तिहाइ बढी उत्पादन लिन सकिने उनीहरुको भनाइ छ।
 धनचौर गाविस-५ का वासुदेव पाण्डे मौरीपालनबाट वर्षमा रु २ लाख आम्दानी गर्ने बताउँछन्। पाण्डेले ३० घार मौरी पाल्दै आएका  छन्। मौरीको आम्दानीबाट ६ जनाको परिवार पाल्नुका साथै छोराछोरीलाई पढाउँदै आएको उनको भनाइ छ।  बाबुबाजेका पालादेखि नै पाल्दै आएको मौरीलाई थोरै व्यवस्थित गरेर यसैबाट घरखर्च चलाएको छु। केही रकम सञ्चित पनि भएको छ, उनले भने।
 वार्ड नं। ६ का लेखनाथ पाण्डेले पनि माहुरीबाटै आफ्नो जीविकोपार्जन चलाएको बताउँछन्। २० घार मौरी पालेका पाण्डेले वर्षमा रु १ लाख सम्मको आम्दानी गर्ने बताए।  सदरमुकाम सन्धिखर्कबाट ६ कोष टाढा पर्ने धनचौर एउटा विकट गाविस भएपनि मौरीको लागि उदाहरणीय गाविस बनेको छ। यहाँका बासिन्दाहरु घरमा आउने अतिथिहरुलाई चियाको सट्टा मह र चाका खुवाएर स्वागत गर्ने गरिएको स्थानीय बासिन्दा गोपाल प्रसाद भट्टराई बताउँछन्।

No comments:

Pages