5/08/2011

अमेरिकाबाट शिक्षामा सहयोग

कतिले सोच्दा हुन् विदेश गएपछि मान्छेले स्वदेशका सबै कुरा बिर्सन्छ । कतिपयले विर्सँदा पनि हुन् । तर, नुवाकोट जिल्लाको भाल्चे गाविसमा सामान्य किसान परिवारमा जन्मिएका जय तामाङ विगत ६ वर्षदेखि सात समुन्द्रपारि अमेरिकामा रहेर पनि सपना, विपना र पलपलमा आफ्नै, देश, देशवासी, गाउँ र गाउँवासीको हितमा समर्पित छन् । आफ्नो परिवारसहित अमेरिकामा रहेका तामाङ एउटा सपुरमार्केटमा कार्यरत छन् ।
उनी आफ्नो ड्युटी सकिनासाथ बाँकी समय गाउँको विकासमा सहयोग जुटाउने उद्देश्यले विभिन्न संघ–संस्थामा सहयोगका लागि पुग्ने गर्दछन् ।

३७ वर्षीय तामाङले नेपाल फ्रिड नामक गैर सरकारी संस्थाको माध्यमबाट विभिन्न सामाजिक गतिविधि
अगाडि बढाएका छन् । उनकै सहयोगमा फ्रिड नेपालले भाल्चे बेंसी र भाल्चे ठूलो गाउँको जीर्ण अवस्थामा रहेको विद्यालय पुनःनिर्माण गरी तीनवटा पक्की भवन बनिसकेको छ ।
यस्तै, उनकै पहलमा विद्यालयका लागि अंग्रेजी भाषा शिक्षकको व्यवस्थासमेत गरिएको छ । तामाङले भाल्चे र काउँले गाविसका ४ सय ५० जना विद्यार्थीहरूलाई सुविधा पुग्ने गरी पुस्तकालय र कप्युटर सिक्ने व्यवस्था मिलाइदिएका छन् । कमजोर आर्थिक अवस्थाका कारण कापी, कलम, डे«सजस्ता न्यूनतम आवश्यकता पुरा गर्न नसकेर विद्यालय जान नपाएकाहरुलाई आफूले सहयोग गरिरहेको तामाङले बताए । उनले भाल्चे गाविसका फुटबलप्रेमीहरूलाई फुटबल र खेलाडीहरूलाई ड्रेससहित नगद ४५ हजार सहयोग गरेका छन् ।
‘सहयोग संकलन सोचेअनुरूप भयो भने गाउँको शिक्षा क्षेत्रमा थप सहयोग गर्नेछु,’ तामाङले भन्नुभयो । ११ वर्ष अगाडि भाल्चे गाउँमा मरणघाट बनाउनका लागि नगद रु. १ लाख सहयोग गरेका तामाङ आफू सानैदेखि समाजसेवा भनेपछि हुरुक्क हुने गरेको बताउनु हुन्छ ।
कति नेपाली बौद्धिक मात्र होइन भौतिक सम्पत्ति नै लिएर विदेश पलायन भइरहेका छन् । गाउँको शिरीखुरी बेचेर विदेशिनेहरूको संख्या पनि उल्लेख्य छ । विदेश गएर कतिले आफ्नो परिवारको जीवनस्तर उकासेका छन् । कतिले आफन्तको जीवनमा परिवर्तन ल्याएका छन्् । अझ, कति युवा तामाङजस्ता पनि छन्, जो देशको शिक्षा, स्वास्थ्य र सामाजिक परिवर्तनका लागि सात समुद्रपार पनि चिन्तित छन् । त्यसैले भन्न सकिन्छ, जय तामाङजस्ता युवाहरूको संख्या बढ्दै जाने हो भने सामाजिक परिवर्तन र देश विकासमा समय लाग्ने छैन ।

No comments:

Pages