5/13/2011

बच्चा जन्माएर मिल्काउने नेपाली विद्यार्थी युवती प्रहरी फन्दामा

एकजना अविवाहित नेपाली विद्यार्थीले न्युयोर्कमा बच्चा जन्माएर अस्पतालको ट्वाइलेटमा छाडेपछि बच्चा मृत्युको संघारमा पुगेको छ ।
चारवर्ष अगाडि नेपालबाट अमेरिका आएकी एउटी अविवाहित युवतीले बच्चा जन्माएर फोहोर मिल्काउने भांडोमा कोचेकी थिइन् । न्युयोर्कबाट किशोर पन्थीले तयार पारेको रिपोर्ट ।

मंगलबार २३ वर्षकी युवती दावा लामाले न्युयोर्कको एउटा अस्पतालको ट्वाइलेटमा बच्ची जन्माएकी थिइन् । त्यसपछि उनले त्यो बच्चीलाई फोहोर मिल्काउने भांडोमा कोचेकी थिइन् ।

मंगलबार न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा बच्चा जन्माउनु अगाडि दावा चेकअपको लागि पुगेकी थिइन् । त्यतीबेलै इमर्जेन्सी शाखा प्रवेश नजिकै रहेको ट्वाइलेटमा पुगेर दावाले बच्चा जन्माएकी थिइन् ।


जब अस्पतालको ट्वाइलेटमा त्यहांका कर्मचारीहरुले आलो रगतका टाटाहरु देखे, त्यसपछि फोहोर मिल्काउने भांडामा एउटा बच्ची भेटिएको थियो । बच्ची भेटिदासम्म दावा लामाले अस्पताल छोडीसकेकी प्रहरीले जानकारी दिएको छ ।

बच्ची भेटिएपछि उनलाई लङ आइल्याण्डको यहुदी अस्पतालमा उपचारका लागि लगिएको छ । बुधबारसम्म नवजात शिशुको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।


युवती दावाले आफूलाई गर्भवती भएको कुरा कहिले पनि नभनेको उनकी आमा शेरी शेर्पाले जानकारी दिएकी छिन् । दावाकी आमाले भनिन् – मलाई दावा गर्भवती भएकोबारे केही पनि थाहा थिएन । उसले मलाई आफू मोटाएको बताएकी थिई ।

आफूले कुनै समस्या परेको भए अस्पतालमा जाने हो कि भन्दा पनि छोरी दावाले आफू ठीकठाक रहको बताएको शेरी शेर्पाको भनाई छ ।

नवजात शिशुको हत्या प्रयासपछि दावाले कस्तो कानुनी उपचार भेट्नेहुन् भन्ने अहिलेसम्म स्पष्ट छैन । दावा शेर्पा चार वर्ष अगाडि उनकी आमाका साथ नेपालबाट न्युयोर्क आएकी थिइन् ।


रेष्टुरेन्टमा काम गर्दै आएका दावाका २८ वर्षीय व्यायफ्रेन्ड बिष्णु गुरुङलाई पनि दावा गर्भवती भएको थाहा थिएन । आफूले सधै दावालाई सोधेपनि उनले केही नबताएको गुरुङले जानकारी दिएका छन् । दावा लामा अहिले प्रहरीको फन्दामा परिसकेकी छिन् ।

लामा ब्युटीसियन विद्यालयकी विद्यार्थी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।(विश्वन्युजबाट)

No comments:

Pages