नेपाल टेलिकमलाई झेलिकम किन भनिएको होला भन्ने सबैलाई थाहै छ । मोबाइल बाँड्ने नेटवर्क नदिने, टेलिफोन जडान गरिदिने तार नहाल्दिने, इन्टरनेटको लाइन् दिने कामै नदिने आदि इत्यादि कारणले नै नेपाल टेलिकम झुर् झेलिकममा परिणत भएको हो । अझ दुर्गम भेगका जनतालाई त सौतलो व्यवहार नै गरेको छ झेलिकमले ।
पूर्वी रोल्पा र प्युठानका डेढ दर्जन गाविसमा विगत चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा पनि झेलिकमका कर्मचारीहरूको कानमा बतास पसेको छैन । गत शुक्रबारदेखि रोल्पाका मिझिङ, तेबाङ, अरेश, खुग्री, घोडागाउँ, गुम्चाल, बडाचौर, सेरम, स्युरी, जैमाकसला, उवा, हार्जङ, गाम र प्युठानका स्वर्गद्वारी, सारी र भिग्री लगायतका गाविसमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।
फोन सञ्चालनमा नआएपछि सर्वसाधारण टेलिफोन गर्न सदरमुकामसम्म धाउन बाध्य भएका छन् । यसको मारमा सञ्चारकर्मीहरूसमेत परेका छन् । टावरमा आउने खरावीका कारण यसअघि समेत बारम्बार टेलिफोन अबरुद्ध हुँदै आए पनि झेलिकम कार्यालयले टावर मर्मतमा चासो देखाएको छैन ।
कार्यालयले नमस्ते तथा स्काई टावरमा खराबी आएकाले फोन सेवा अबरुद्ध भएको बताए पनि मर्मत गर्ने तिथि भने ज्योतिषलाई हेराएपछि मात्र टुंगो लाग्ने छाँटकाँट देखिन्छ । टावर बनाउने प्राविधिक समेत राजधानीबाट मगाउनुपर्ने दुर्दशा रहेको झेलिकमको चाला देखेर अहिले यस भेगका जनता आजित भइसकेका छन् ।
No comments:
Post a Comment