7/21/2011

कोरियाली भाषा परीक्षा सुरु, ५७ हजारको लाम

ईपिएस रोजगार प्रणालीअन्तर्गत दक्षिण कोरियामा काम गर्न जान लिइने कोरिया भाषाको परीक्षा आजबाट सुरु हुँदैछ । आज र भोलि हुने उक्त परीक्षामा ५७ हजार ४ सय ५७ युवायुवती सहभागी हुने ईपीएस कार्यालयले जनाएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा १५ हजारले बढी हो ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गर्न अनिवार्य रुपमा यो परीक्षा उतीर्ण गर्नुपर्छ । यसपटकको परीक्षामा उतीर्ण हुने सात हजार एक सय परीक्षार्थी सन् २०१२ मा कोरिया जान सक्नेछन् । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरका २० स्थानबाट परीक्षा केन्द्र तोकिएको छ । परीक्षाका लागि १ हजार ३ सय कर्मचारी र १ हजार प्रहरी परिचालन गरिने मन्त्रालयले जनाएको छ ।
कोरियाले रोजगार अनुमति प्रणालीअन्तर्गत सन् २००८ मा आवेदन खुला गरेपछि यसअघि दुईवटा परीक्षा भइसकेका छन् । यसअघिको परीक्षामा चार हजार १८० परीक्षार्थी उतीर्ण भएकामा तीन हजार एक सय मात्रै कोरिया गएका थिए । यो प्रणाली अन्तर्गत हालसम्म गएका ८ हजार नेपाली युवा दक्षिण कोरियामा काम गरिरहेका छन् । ईपीएस कार्यालयका निर्देशक महेश आचार्यले परिक्षार्थीको उत्तरपुस्तिका कोरियामा नै जाँच हुने र नतिजा आगामी भदौ पहिलो साता प्रकाशित गरिने जानकारी दिएका छन् ।
परीक्षाका लागि कोरियाली मानव संशाधन विभागका महानिर्देशक शक लिम क्युङ सिकको नेतृत्वमा ५८ सदस्य टोली नेपाल आइसकेको छ । भाषा परिक्षाका लागि ५७ हजार ६ सय ५१ जनाले आवेदन दिएका भएपनि उमेर हदबन्दीका कारण केही आवेदन खारेज भएको छ । नेपालका लागि यस वर्ष कोरियाले ७  हजार १ सय कामदारको कोटा छुट्याएको छ ।
नेपाल र कोरिया सरकारबीच ईपिएस प्रणाली अन्तर्गत कामदार पठाउने सहमति भएपछि न्यून लागतमा नेपाली युवायुवतीहरुलाई कोरिया रोजगारीमा पठाइदैं आइरहेको छ । यसअघि मेनपावर कम्पनी र एजेन्टहरुलाई लाखौं बुझाएर कोरिया जान बाध्य युवाहरु हाल सतरी हजार रुपैयाँ तिरेर कोरिया जान पाउँछन् र मासिक ७० हजार देखि १ लाख रुपैयाँ सम्म आम्दानी गर्न सक्दछन् ।
उता, मानव संशाधन विभागका महानिर्देशक सिकले ईपिएस अन्तर्गत कामदार कोटा बढाउन सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका अधिकारीहरुसँग भएको छलफलमा महानिर्देशक सिकले नेपाली कामदारहरुको प्रशंसा गर्दै कोटा बढाउने तयारी गरिरहेको बताएका छन् । उनले विगतमा नेपाली कामदारको मेहनत र इमान्दारिता देखेर नै यस वर्ष कामदारको कोटा बढाएको उल्लेख गर्दै यसै वर्षदेखि कोटा बढाउने विषमा छलफल चलिरहेको जानकार दिएका छन् ।

No comments:

Pages