7/21/2011

पाण्डेको हावादारी गफ

नकुलदेव
हमिद अन्सारीको लासमाथिको ब्रह्मलुट पर्दाफास भएपछि उनको ठाउँमा साउदी अरबमा नयाँ राजदूत नियुक्त भए, उदयराज पाण्डे । एमालेको कोटाबाट राजदूत बनेका पाण्डेले काम थाल्नु आगाडि नै योजनाको ठुलै पोको अघि सारेका छन् ।
उनले एक महिनाअघि सरकारले खुला गरेको घरेलु कामदार पठाउने प्रक्रिया व्यवस्थित गर्न नयाँ व्यवस्था घोषणा गरेका छन् । राजदूत पाण्डेले घरेलु महिला कामदारको माग ल्याउन म्यानपावर व्यवसायीहरूले २ लाख रुपैयाँ धरौटी राख्ने व्यवस्था गरिने बताएका छन् । उनले घरेलु काममा महिला कामदारलाई सुरक्षित बनाउन म्यानपावर व्यवसायीहरूले धरौटी राख्नुपर्ने व्यवस्था गर्न लागेको बताए । महिला कामदार अलपत्र वा समस्यामा परे धरौटी रकमबाट उद्धार गरिने उनको कथन छ ।
राजदूत पाण्डेको यस घोषणाप्रति मेनपावर व्यासायीहरू भने सहमत देखिदैनन् । उनीहरूका अनुसार वैदेशिक रोजगार विभागमा ३० लाख धरौटी राखी कानूनसम्मत तरिकाले व्यवसाय गरिरहेका व्यासायीहरूले पुनः धरौटी राख्नुपर्छ भन्नु व्यवसायीलाई भार थोपरेर उम्कन खोज्नु हो । थप धरौटी लिने राजदूतको भनाईलाई मेनपावर व्यवसायीहरूले वाहियात गफको संज्ञा दिएका छन् । व्यवसायीहरूले महिला कामदार पठाउन छुट्टै सूचीकृत गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
राजदूत पाण्डेले घरेलु काममा जाँदा महिला कामदारसँग म्यानपावर व्यवसायीले लिने रकम पनि पारदर्शी बनाइने घोषणा र कामदारको उद्धारका लागि वैदेशिक रोजागर प्रवद्र्धन बोर्डको कल्याणकारी कोषमा रहेको रकम परिचालनका लागि आग्रह गर्ने योजना पनि अघि सारेका छन् । त्यसो त कतारका राजदूत सुर्यनाथ मिश्रले पनि कामदारको हितको लागि भन्दै न्युनतम तलब सुविधा, अनिवार्य खाना सुविधा र न्युनतम लागत तोकेका थिए । तर त्यसले कामदारको हित होइन उल्टो मेनपावर कम्पनीले दोहोरो सम्झौता गराएर पठाउने र बिचल्लीमा पार्ने क्रम बढ्यो । बरू राजदूत र दूतावासकै कर्मचारीहरूको कालोसूची खेती गर्ने र ब्ल्याकमेलिङ गरेर खाने भाँडो बन्यो यो नियम । राजदूत पाण्डेले घोषणा गरेको नियम पनि मिश्रपथतिर जाने आशंका व्याप्त छ । किनकी अन्सारी हटे पनि साउदी दूतावासमा अन्सारी प्रवृत्ति हटेको छैन ।
खाडी मुलुकका राजदूतहरूका विभिन्न चर्तिकलाका कारण उनीहरूप्रति हेर्ने आम दृष्टिकोण पछिल्लो समयमा नकारात्मक रहेको पाइन्छ । साउदीका तत्कालिन राजदूत हमिद अन्सारीको मृतकको बीमा रकम माथिको दार्इं, कुवेतका राजदूत मधुवन पौडेल र कतारका राजदूत सुर्यनाथ मिश्रको मेनपावर दलाली जस्ता गतिविविधका कारण उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याइदिएको छ । हुन त राजदूत भनेको कुटनीतिक सम्बन्ध प्रगाढ बनाउन र आफ्ना नागरिकको समस्या हल गर्ने जिम्मेवारी बहन गरेको व्यक्तित्व हुनुपर्ने हो । तर, अहिले राजनीतिक दलको भागवण्डामा चाकडी चाप्लुसी र कमिसन बुझाउन सक्ने योग्यता पुगेकाहरूलाई नियुक्त गर्न थालिएपछि राजदूतहरू धुर्तमा परिणत भएका छन् । दलका नेताहरूलाई दक्षिणा चढाएर उनीहरूको  आशिर्वादमा राजदूत बन्नेहरूले एकातिर मुलुकको कुटनीतिक क्षेत्र नै बदनाम बनाएका छन् भने अर्कोतिर पीडित कामदारहरूको नाम बेचेर भुँडी भरिरहेका छन् ।
आफ्नो घरपरिवारदेखि मुलुकको अर्थतन्त्रसम्मको जिम्मेवारी बोकेर वैदेशिक रोजगारीमा गएका कामदारहरूको घाउमा मलमपट्टी गर्ने भन्दा पनि नुन चुक छर्केर खान पल्केका राजदूत र उनका भजनमण्डलीकै कारण धेरै कामदाहरू खाडीको प्रचण्ड गर्मीमा  आफ्नो भाग्यलाई सरापेर बस्न बाध्य छन् ।
के कामै सुरु गर्न नपाई फलाक्किदै हिड्ने नवनियुक्त राजदूत पाण्डेले उनका अग्रजहरूले लगाएको दाग मेट्न सक्छन् ? के दुनियाँ सामु फलाकेका जम्बो योजना लागु गर्न सक्छन् ?

No comments:

Pages