7/21/2011

एनआरएनलाई डलर खाता खोल्ने सुविधा

सुदर्शन सापकोटा
विदेश जाने नेपालीले एक पटकमा २ हजार पाँच सय अमेरिकी डलरसम्म लान पाउने भएका छन्। यसअघि २ हजार डलरसम्म मात्र लान पाइन्थ्यो। खासगरी विद्यार्थीका लागि लक्षित गरेर वाहिर लान पाइने रकमको सीमा वढाइएको हो।
राष्ट्र बैंकले एक आर्थिक वर्षमा वाहिर लान पाइने रकमको सीमा पनि वढाएको छ। यो सीमा ४ हजार डलरबाट वढाएर ५ हजार पुर्‍याइएको छ। यो सुविधा भारतवाहेकका मुलुक जान लागेका नेपालीले पाउने छन्।
नेपालीहरू विदेश जाने क्रम बढेसँगै आफन्तमार्फत विदेशी मुद्रा नगदै पठाउने गरेकाले यस्तो मुद्रा परिचयसहित स्रोत देखाए सटही हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ। पर्यटकबाट प्राप्त टिप्स पनि सटही हुने छ। राष्ट्र बैंकले एक हजार अमेरिकी डलर बराबरको रकम साट्ने नीति लिएको हो।


राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गैरआवसिय नेपालीलाई डलर खाता खोल्न छुट दिएको छ। यसअघि उनीहरुले नेपाली मुद्रामा मात्रै खाता खोल्न पाउँथे। बैंक तथा वित्तीय संस्थाले मात्र विदेशमा नोस्ट्रो खाता खोल्न पाउँदै आएकोमा अबदेखि सर्वसाधारणले पनि खोल्न पाउने भएका छन्। व्यवशाय, रोजगारी लगायत पछिल्लो समयमा विदेशमा शाखारसम्पर्क कार्यालय प्रदर्शन कक्ष खोल्ने, विभिन्न मुलुकमा हुने प्रदर्शनी तथा सभामा भाग लिने क्रम बढ्दै गएकाले उनीहरुको सजिलोका लागि नोस्ट्रो खाता खोल्ने व्यवस्था गरिएको हो। मुलुकले प्राथमिकता प्रदान गरेको जलविद्युत लगायतका पूर्वाधार क्षेत्रको विकासका लागि विदेशबाट ऋण लिने क्रम बढ्दै गएको भन्दै मौद्रिक नीतिले त्यस्ता आयोजनामा लगानी गर्न बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा कर्जा दिने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ। साथै सर्वसाधारणले पनि विदेशी मुद्रामा पनि आयोजनामा लगानी गर्न सक्छन्।
वाणिज्य बैंकले निर्यातकर्ताको लागि जारी गर्ने अग्रिम भुक्तानी प्रमाणपत्रको एक वर्ष बनाउँदै त्यसको नवीकरण सम्वन्धित बैंकले नै गर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ। ६र६ महिना गरी तीन वर्षसम्म नवीकरण गर्न सक्ने व्यवस्थाबाट व्यवसायिक झन्झट उत्पन्न भएकाले अवधि एक वर्ष बनाइएको हो।
नेपाल र भुटानबीच हुने व्यापारिक कारोवार भारतीय रूपैयाँमा फर्छ्यौट हुने गरेको अवस्थामा भ्रमणको भने अमेरिकी डलरमा हुने भएकाले यसलाई भारतीय रुपैयाँमै गर्ने व्यवस्था पनि गरिएको छ। भिसा र मास्टर कार्डबाट हुने कारोबारलाई भारतीय रुपैयाँमा गर्ने भएको हो।

No comments:

Pages