4/09/2011

वैदेशिक रोजगार रहर होइन बाध्यता

सि. एन. ज्ञवाली
कुनै बेला नेपाली समाजमा सात समुद्रपारि गयो भने त जात जाने मात्र होइन समाजबाट बहिष्कृत भएर बस्नुपर्ने र आफ्नै गाउँघरमा आउन नपाउने नियम थियो । मुलुकी ऐन बन्नुअघि त्यस्ता रूढीवादी ऐन–नियमले देश र नागरिकलाई त्यसरी जबरजस्त बाँधेको थियो । संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार २००७ सालको जनक्रान्तिपछि मात्र विदेशीहरूका लागि निषेध गरिएको मुलुकको नामले परिचित नेपाल सबैका लागि खुला हुन गएको हो । त्यस्तै, नेपालीहरूका लागि लादिएका जात जाने, समाजबाट बहिष्कृत हुनुपर्ने जस्ता रूढीवादी थोत्रा ऐन नियमहरू सबै तोडिए ।

वैदेशिक छात्रवृत्ति, सहयोग र सहायताअन्तर्गत देशविदेशमा गई अध्ययन गर्न जाने, तालिम लिन जाने, अध्ययन निरीक्षण भ्रमण गर्न जाने तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरूमा भाग लिन जाने क्रमसँगै वैदेशिक रोजगारीमा खाडी मुलुकमा पसिनाका नदीहरू बगाएर मरूभूमिलाई सदावहार बनाउन विभिन्न पेशामा लाखौं नेपालीहरू क्रियाशील रहँदै आएका छन् । २१औं शताब्दीको प्रारम्भमा विदेशिने नेपालीहरूको लाम–लस्करलाई रोक्नै मुस्किल पर्न थालेको छ । व्यापार, अध्ययन र वैदेशिक रोजगारीकाक्रमा विश्वका कुना–कुनामा नेपाली पुगेका छन् । सबैको अन्तिम लक्ष्य भनेकै पैसा कमाउने र सीप सिक्ने नै हो ।
छोराछोरी विदेशिएपछि सहरबजार र गाउँका अधिकांश घरहरू वृद्धाश्रमजस्तै बनेका छन् । आफना नागरिक कहाँ–कुन हैसियतमा, कुन कम्पनी अथवा खाडीका मरूभूमिमा कत्तिको संख्यामा छन्, विदेशस्थित नेपाली दूतावासमा बस्ने सरोकारवालाले खोजतलास र चासो राखेको पाइँदैन । देशकै अर्थतन्त्र धान्ने अवस्थामा रहेको र देश टाट पल्टिनबाट निरन्तर जोगाइरहने लाखौं नेपाली नागरिकलाई राष्ट्रले के गरिराखेको छ त ? विदेशस्थित नेपाली दूतावास केवल औपचारिकताका लागि मात्र छन् । सिंगो देशकै अर्थतन्त्र धान्ने अवस्थामा रहेको वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनका लागि नेपाल सरकारका उच्च निकायका पदाधिकारीहरू रमिते मात्र बनिरहेका छन् । वैदेशिक रोजगारीबाट भित्रिएका  विकृति र विसंगतिहरूले गर्दा दिनहुँ ठगिने, श्रम शोषण हुने, अलपत्र पार्ने, अकालमा मृत्युवरण गर्न बाध्य हुने घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् । आफना नागरिकको हकहित, अधिकार र सुरक्षाका लागि दूतावास जिम्मेवार हुन्छ । तर, यस्ता समस्याहरूप्रति दूतावासलाई कुनै चासो नभएको देखिन्छ ।
मेनपावर व्यवसायीहरूले बेरोजगार युवाहरूलाई आफनै व्यक्तिगत पहलमा खाडीका मुलुकहरुमा हदैसम्मको जोखिम मोलेर बजार प्रबद्र्धन गरी रोजगारी सिर्जना गरेका छन् । मेनपावर सञ्चालकलाई मात्र दोषी र अनेकौ कपोलकल्पित लाञ्छना लगाउने परिपाटी पुरानै हो तर जहिले पनि मेनपावरलाई मात्र कलंकित गर्ने, दोष दिने र गलत देखाउने परम्परा छ । यदि कुनै व्यक्ति वैदेशिक रोजगारमा गई मेनपावरले भनेअनुसारको तलब सुविधा पाउँदा–पाउँदै व्यक्तिगत कारणले स्वदेश फर्कनुपर्ने अवस्था आए पनि सम्पूर्ण दोष मेनपावरलाई लगाउने गरिन्छ । वैदेशिक रोजगार विभागले कामदार किन फर्कियो र स्वयं व्यक्तिका कारण हो वा मेनपावरको लापरवाहीबाट भएको हो भन्ने विषयमा सही अनुसन्धान हुनुपर्दछ । वास्तविक समस्याको पहिचान हुनु जरूरी छ ।
हातमा डिग्रीको प्रमाणपत्र छ, सीप छ, तर उसको राजनैतिक झण्डा छैन, त्यसैले उसले अवसर र प्राथमिकता पाएन, त्यसपछि विदेशिने क्रम अत्यधिक मात्रामा बढेको हो । नागरिकका समस्याप्रति उदासिन सरकार भने रेमिटान्सको हिसाब गर्दै आंैला भाँचेर बसेको छ । जिम्मेवार सरकारी अधिकारीहरू रेमिटान्स नै मुलुकको अर्थतन्त्रको मेरूदण्ड भएको गर्वसाथ बताउँछन् । तर, विदेशमा नेपाली कामदारहरूको पीडा, वेदना, रोदन, क्रन्दन र पीरमर्काबारे एक शब्द पनि बोल्ने साहस गर्दैनन् । आरनमाझै ५० डिग्रीको तापक्रममा कामको नाममा कहर काट्ने नेपाली कामदारले कष्टकासाथ आफ्नो परिवारलाई मात्र होइन सिंगो राष्ट्रलाई गुन लगाएका छन् ।
गरिब नेपाली युवाहरू जो खाडी र मलेसियामा चर्को घाम र तातो कारखानाभित्र काम गर्न बाध्य छन् ती कामदारहरूको रगत र पसिनाले पठाएको रेमिटान्सले सिंगो मुलुक चलिरहेको छ । तर, युरोप र अमेरिकामा जीवन व्यतीत गर्ने आफ्नो घरपरिवारको बन्दोबस्त त्यतै गर्ने प्रवृत्ति र नेपालबाट आफनो सम्पत्ति बेचेर उतैतिर पलायन हुनेहरू आज गैरआवसीय नेपाली हुँ भनी ठूला–ठूला आदर्शका नारा लगाइरहेका छन् । उनीहरूले एनआरएनलाई ठगी खाने भाडो बनाएका छन् ।
आफूलाई एनआरएनको नेता भन्नेहरूले जति ठूलो प्रतिष्ठा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पाएका छन्, यसको जस वैदेशिक रोजगारीमा गएका कामदारहरूलाई नै जान्छ । यिनीहरूले वैदेशिक रोजगारीमा गएका कामदारको हकहित र अधिकार तथा समस्याप्रति सरोकारवालाहरूसँग समन्वय गर्नुपर्ने हो तर रमिते बनेर आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्नमै सीमित छन् ।
अन्य क्षेत्रहरुमा जस्तै अब वैदेशिक रोजगारीको क्षेत्रमा पनि नयाँ, सोच र कार्यशैली अपनाउनु जरुरी छ । नयाँ नेपालको निर्माणसँगै हाम्रा सोच, मूल्य र मान्यताहरू फराकिलो हुँदै जानु पर्छ । अब हाम्रो बुझाई र व्यवहारलाई परिर्वतन गर्नुपर्ने बेला आएको छ । नेपालीले नेपालीलाई ठग्ने संस्कृतिको अन्त्य हुँदै जाओस, पुरातन सोचबाट वैदेशिक रोजगार क्षेत्र मुक्त होस् ।

(लेखक द रिभर ओभरसिज प्रा.लि.का अपरेशन म्यानेजर हुन ।)

No comments:

Pages