काठमाडौँ । दोलखाको उत्तरी गाविस आलाम्पुका अल्पसङ्ख्यक थामी समुदाय गाग्रोफुटे ढुङ्गा खानीमा काम गरेर पुस्तौदेखि जीविका चलाउँदै आएका छन् । हातमा हथौडा, गल आदि औजार लिएर बिहानदेखि बेलुकासम्म खानीबाट स्लेटढुङ्गा निकाल्ने काम गरी कमाएको पैसा नै उनीहरूको गुजाराको एक मात्र आधार हो ।
स्लेट खानीमा काम गरेर जीविका चलाउँदै आउनुभएका आलाम्पु गाविसका ५३ वर्षिय आइतबीर थामी भन्नुहुन्छ,– ‘आम्दानी अरु छैन, खानीमा काम गरेर भए पनि परिवार त पाल्नै प¥यो ।’ ‘सात जनाको परिवार छ, सबैलाई यही खानीकै भरले पाल्नुपर्छ’, सोही गाउँका ६१ वर्षिय नन्दलाल थामीले भन्नुभयो,–‘ढुङ्गा नघोटिकन भोको पेट भर्न पाइँदैन ।’
कम खेतबारी, त्यो पनि उर्बराभूमि नभएकाले राम्रो उब्जाउ हँुदैन । हातमुख जोड्नकै लागि पहाडी भीरमा जीवनभर उनीहरूले जोखिम मोल्नुपरेको छ । उनीहरू निरन्तर आफ्नो काममा जुटिरहेका छन् । भीरबाट लडिन्छ भन्ने केही चिन्ता छैन, न त पहिरोले किच्ला भन्ने नै । यो स्लेटढुङ्गा खानीमा २४१ घर थामी प्रत्यक्ष रूपमा आश्रित छन । यिनका पुर्खाले यो खानी पत्ता लगाए । ढुङ्गा झिक्ने कौशलको विकास उनीहरूबाटै भयो र प्रयोग गर्ने तरिका पनि उनीहरूले सिकाए । पुस्तौदेखि उपभोग गर्दै आएका यी थामीहरूले खानीलाई अंशबण्डा गरी २४१ घरधुरीलाई बाँडेका छन् ।
पुरुषहरूले दिनभर झिकेको ढुङ्गा महिलाहरूले साँझ भारी हाल्छन् र ठेकेदारलाई बेच्न गाउँ फर्किन्छन् । अहिले यहाँ एक जनाले दिनमा रू.१५० देखि रू.२०० सम्म कमाउँछन् । निर्वाधरूपमा खानी उपभोग गर्दै आए पनि उनीहरूसँग खानीका ढुङ्गा झिक्न पाउने आधिकारिक प्रमाण छैन । दोलखाको आलाम्पु गाविसस्थित यो खानी पूर्वमा रासा खानी, पश्चिममा बासा खानी, उत्तरमा देउराली सुवारे र दक्षिणमा गल्कु खोलासम्म फैलिएको छ ।
सदरमुकाम चरिकोटबाट करिब १६ कोस उत्तरमा रहेको यो खानी समुद्री सतहबाट करिब २ हजार १७० मिटरको उचाइमा छ । यहाँबाट दैनिक औसत ८७५ वर्ग फिट स्लेटढुङ्गा निकासी हुन्छ । जिविसलाई निकासी कर मात्रै दैनिक रू.१,५०० देखि दुई हजारसम्म (जिल्ला भित्र प्रति वर्ग फिट ५० पैसा, जिल्ला बाहिर रू.१। का दरले) सङ्कलन हुन्छ यहाँ । सडक पुगेपछि अहिले स्थिति बदलिएको छ । यहाँ स्लेटको मूल्य अहिले प्रति वर्गफिट रू.१२। पर्दछ ।
अवाञ्छित चलखेलबाट बच्न खानी सञ्चालकको समूह बनाई समूहको नाममा दर्ता गर्ने सहमति भएको छ । यसका लागि संयोजक टेकबहादुर थामीलाई तोकियो । खानी दर्ता दस्तुरसहित टेकबहादुरलाई जिल्ला कार्यलय दोलखा पठाइयो । तर विडम्बना, उनले खानी दर्ता त गरेछन्, तर समूहका नाममा हैन, उनीसहित अरु चारजनाको मात्र नाममा । दर्तापछि टेकबहादुरले सबै थामीहरूलाई अब आफ्नो अनुमति बेगर कसैले पनि ढुङ्गा झिक्न पाउने छैन भनी धम्क्याउन थाले ।
उनको समूहले गाउँलेलाई धम्काउँदै खानीभित्र ढुङ्गा काट्ने मेसिनसमेत जडान ग¥यो । ‘रोजीरोटीका लागि पुस्तौदेखि उपभोग गर्दै आएको खानी एकाएक अब अरुकै मुठ््ठीमा पुग्यो’, स्थानीय विद्यालयका शिक्षक प्रकाश थामी भन्नुहुन्छ । ‘खानी व्यक्तिगत नाममा दर्ता भएको छैन, बरु कर उठाउन, टेन्डर मात्र बेचिएको हो’, जिल्ला विकास समिति दोलखाका योजना अधिकृत पशुपति पुरीले भन्नुभयो,– टेकबहादुर थामीसहित चार जनाले त्यही टेण्डर किनेका हुन् ।’
‘जिविसले व्यापारीसँग कर उठाउन अनुमति मात्रै दिएको हो,’ अधिकृत पुरीले थप्नुुभयो,–‘यो बाहेक अरु कुनै काम उहाँहरूबाट भए त्यो गैर कानुनी हुन्छ ।’ र कर उठाउने अनुमति लिनेहरूले त्यसो नगरी पुरै खानी कब्जा गर्ने प्रपञ्च रचेको थाहा भएको छ । यदि यसतर्फ समयमै प्रशासनको ध्यान नजाने हो भने वर्षौदेखि खानीको भरमा गुजारा गर्दै आएका थामीले अनाहकमा दुःख पाउने छन् ।
जनकपुरधाम । जनकपुर चुरोट कारखाना लिमिटेड आर्थिक अभावका कारण जटिल अवस्थामा पुगिसकेकोप्रति चिन्ता व्यक्त गरिएको छ । सो कारखानाको संयुक्त मजदुर समन्वय समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कारखाना सञ्चालनमा दिनप्रतिदिन जटिलता बढिरहेकाले सरकारले तत्कालै नयाँ व्यवस्थापक नियुक्त गर्न माग गरेका छन् ।
कारखाना हाल भ्याट, भन्सार, बीमा, सूर्ति व्यवसायीको भुक्तानी, अवकाश प्राप्त कर्मचारीको हिसाब फछ्र्यौट गर्न नसक्ने अवस्थामा पुगेको छ । समितिका सचिव विश्वनाथ ठाकुरले सम्पूर्ण निर्णय लिई निकास दिने काम सरकारको भएकाले कारखाना सरकारको निर्णयको प्रतिक्षामा छ भन्नुभयो ।
हाल कारखानामा कच्चा पदार्थ सूर्तिको मौज्दात धेरै नै कम रहेको र दुई÷तीनदिनसम्म मात्र उत्पादन हुनसक्ने अवस्था रहेको बताइन्छ । निमित्त महाप्रबन्धक रामस्वार्थ यादव कारखानालाई सूर्ति अविलम्ब चाहिने तर टेण्डरका सर्त प्रक्रियाले तत्काल सूर्ति उपलब्ध हुनसक्ने अवस्था नरहेको बताउनुहुन्छ । कारखानाको हाल १० करोड रूपैयाँ ऋण थपिएको बताइएको छ ।
कालिका खड्का
No comments:
Post a Comment