4/09/2011

कतारमा नेपालीहरु अवैध व्यवसायमा संलग्न

प्रेम लामा
वैदेशिक रोजगारीको सिलसिलमा दोहा आएका केही नेपालीहरुले यहाँको कानूनले बर्जित गरेका व्यापार व्यवसाय गर्दै आएको देखिएको छ । नेपालमा एजेन्टलाई लाखौ तिरेर आएका नेपालीहरु यहि कारणले स्वदेश फर्कन बाध्य हुनुपरेको थुप्रै घटनाहरु देख्न सकिन्छ । कतिपयले जेलको सजाय भोग्नुपरेको छ भने कतिले जरीवाना तिर्ने गरेका छन् । सानोतिनो भाषाको समस्याले गर्दा कतिपय नेपालीहरुलाई जेल जानु पर्नाका साथै नेपाल फिर्ता समेत पठाइएका छन् । केही नेपाली युवाले विभिन्न प्रकारका नेपाली तथा हिन्दी फिल्मको सिडि, सूर्ति, चनाचटपटे, पेप्सी, चिया, पानीपुरी, पानपराग, विभिन्न प्रकारका नेपाली पत्रपत्रिकाहरु सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्दै आएका छन् ।
यसमा उनीहरू आफ्नो बाध्यतालाई कारणकारुपमा बताउँछन् ।
‘के गर्नु हजुर ? एजेन्टलाई लाखौ तिरेर आईयो राम्रो काम, ८ सय तलव, खाना बस्ने सुविधा, दिनको तीनचार घण्टा ओभर टाईम लाग्छ र एक हजार  महिनामा सजिलैसँगै बचाउन सकिन्छ भनेर आएको तर यहाँ साँढे पाँचसयमा काम गर्नुपर्ने, ओभर टाईम पनि नभएको खाना पनि आफ्नै तलबबाट खानुपर्ने भएपछि यस्तो व्यापार ब्यवसाय न गरे के गर्नु त’ नाम र ठेगाना भन्न नचाहने एक नेपालीले भने– ‘साहुको ऋण तिर्न सा¥है गा¥हो भयो हजुर, के गर्नु साहुले अलिअलि भएको खेत पनि खाइदिने भयो ’ सवैले गरेको देखेर आफुले पनि यस्तै व्यपार गरेको जनाउँदै उनले साताको सयदेखि डेढसयसम्म मात्र आम्दानी भए पनि खानाको पैसा पुग्ने बताए । ‘अरु बाटोबाट आम्दानी हुने भए एक दिन आराम गर्न पाउने, साथी भाइ आफन्त भेट्न पाउने दिनमा पनि किन पुलिसको डर मानी मानी यसरी व्यापार गर्नुपथ्र्यो ?’ उल्टै उनले प्रश्न तेस्र्याए । उनले भने– ‘दलालहरुले पैसा कमाउने नाममा अनैतिक कार्यहरु गरेर गरिब नेपालीका छोराछोरीलाई दुःख दिए जस्तो चाहिँ हाम्रो व्यापारले कसैलाई पनि असर पर्दैन ।’
यहाँको कानून अनुसार कसैले पनि यसरी खुल्लारुपमा सार्वजनिक स्थानमा कुनै पनि किसिमको ब्यापार ब्यवसाय गर्न नपाउने प्रावधान छ । तर दोहाका विभिन्न सार्वजनिक स्थलमा यस्तो ब्यापार ब्यवसाय हुँदै आएको पाइन्छ । कोहीले भने यसरी बर्जित गरिएको भनेर थाहा नभएको बताए । एक सूर्ती व्यापारीले भने– ‘आफुले त एक साता भयो शुरु गरेको, सबैले गरेको देखेर मैले पनि व्यापार थालेको हुँ, यसरी बेच्न पाईदैन भन्ने नै थाहा छैन ।’
यिनै स्थानबाट नेपालीहरु माझ विभिन्न किसिमका नेटवर्किङ्ग व्यवसायहरु पनि संचालन हुँदै आएका छन् । यी व्यवसायहरुले आफ्नो कम्पनीको नाममा विभिन्न किसिमका सामानहरु बिक्रि वितरण गर्दै आएको पाइन्छ । यसरी बिक्रि वितरण हुने सामानहरुमा सावुन, चियापत्ति, कफी, टुथपेष्ट, छाला सम्वन्धि क्रिमहरु लगायत रहेका छन् । सार्वजनिक स्थानमा विक्रि वितरण हुने यस्ता सामानहरु सामान्य भन्दा पनि सस्तो रहेको ग्राहकहरु बताउने गर्दछन् । विभिन्न किसिमका सिडी किन्दै गरेका एक ग्राहकले भने अनुसार एउटा नेपाली चलचित्रको सिडी दुई रियाल तथा तीनवटा हिन्दी चलचित्र भएको डिभिडी पनि दुई रियालमा नै पाइन्छ । नेपालमा भर्खरै मात्र निस्केका चलचित्र र गीती एल्वमहरु यहाँ सस्तै र सहजै पाउने हुँदा आफु टाढाबाट खरिद गर्न आएको उनले बताए । तीनसय भन्दा बढी सिडीहरु लिएर बसेका एक व्यापारी आफ्नो व्यापार बारे घमण्ड गर्दै भन्छन्– ‘हामी सस्तो मात्रै हैन स्तरिय सामानहरु बेच्ने गर्दछौ ।’ चौरानब्बे भाग महाभारतको नौवटा डिभिडीलाई आफूलाई बिस रियालमा बेच्ने गरेको उनले जानकारी दिए । सिडी र सूर्ती मात्रै हैन यो ठाउँमा नेपाली ढाका टोपी र अन्य नेपाली उत्पादनहरु पनि पाउने गरिन्छ । ढाकाटोपी किनेर लगाउँदै एकजना ग्राहकले खुशी पोख्दै भने– ‘ढाका टोपी खोज्न दोहाका कति पसल घुमे तर यहाँ आएर भेटियो ।’
यसरी सार्वजनिक स्थालमा ब्यापार ब्यवसाय गर्दै आउनेहरुले आफ्नो बाध्यता रहेका बताए पनि यसो गर्नु उचित नभएको त्यहाँ पुग्ने नेपालीहरु बताउने गर्दछन् । बाध्यात्मक भए पनि आखिर कतार सरकारको कानूनी प्रावधान अनुसार वर्जित ब्यापार हो भन्दै उनीहरु भन्छन्– ‘अबका दिनहरुमा यसरी वर्जित ब्यापार गर्ने तर्फ कोही पनि नेपाली उन्मुख नभईदिए हुन्थ्यो ।’ सय पचासको लोभले गर्दा जेल तथा जरिवाना समेत आइलाग्ने तथा तुरुन्तै नेपाल फर्कनु पर्ने अवस्था सिर्जना हुनाले त्यस्तो व्यापार व्यवसायबाट टाढै रहन उनीहरुले सुझाव दिए ।

No comments:

Pages