दीपक पौडेल
कतार । गत बर्षको साउनबाट कतार भित्रिएकाहरूको तथ्यांक हेर्ने हो भने संस्थागतरुपमा कतार आउनेहरूको संख्या भन्दा व्यक्तिगतरुपमा पठाइएका भिसामा श्रम स्विकृति लिएर (यहाँ आएपछि तनुवा भिसा, हथौडे भिसा लगायतका शब्दले चिनिने) कतार आउनेको संख्या अत्यन्तै बढी छ । कतारमा आएपछि विभिन्न समस्यामा परेर नेपाली दूतावासको शरण खोज्दै आउनेहरूमा पनि अधिकांंश यसरी आएका कामदार नै हुने गरेका छन् ।
नेपाल–कतार श्रम सम्झौता बमोजिम ३ वटा तरिकाबाट यहाँ कामदार ल्याउन सकिन्छ । श्रम सम्झौताको दफा ३ को सेक्सन ३ मा भनिए बमोजिम कम्पनी स्वयं कम्पनीको आधिकारिक प्रतिनिधि वा इजाजत प्राप्त म्यानपावर कम्पनीबाट कामदार मगाउन सक्ने उल्लेख छ । तर, ब्यवहारमा जो कोहिले पनि व्यक्तिगतरुपमा भिसा बटुल्ने र कामदार झिकाउने गरेको पाइन्छ जुन श्रम सम्झौताको भावना विपरित छ र समस्याको प्रमुख कारक पनि बनेको छ ।
हालसम्मको तथ्यांक अनुसार कामदार ल्याउँदा २५ प्रतिशत कामदारका मागपत्र मात्रै नेपाली दूतावासमा प्रमाणित हुनुका साथै सम्पुर्ण प्रकृया पुरा गरिएका पाइएका छन् भने अर्को २५ प्रतिशत कामदारका मागपत्र चेम्बरमा प्रमाणित गरेर दूतावासमा प्रमाणित नगरी पठाइएको पाइएको छ । व्यक्तिगतरुपमा तनुवा भिसा भन्दै कतै पनि प्रमाणित नगरी पठाइएका भिसामा आउने गरेका कामदारको आँकडा ५० प्रतिशत छ । यी ५० प्रतिशतसंग रोजगार सम्झौता हुँदैन जसले गर्दा उनीहरू समस्यामा पर्ने सम्भावना अधिक रहन्छ । ‘यहि हो समस्याको मुहान’ कतारमा लागि नेपाली राजदूत डा. सुर्यनाथ मिश्र भन्छन्– ‘ए श्रेणीका कम्पनीहरू दूतावासमा प्रमाणित गर्ने लगायतका सवै प्रकृया पुरा गर्छन्, बी श्रेणीमा कम्पनीहरू चेम्बर मार्फत जान्छन् र यहाँ नआई भिसा लैजान्छन् । सि, डि र ई श्रेणीका कम्पनीहरू व्यक्ति÷व्यक्तिलाई भिसा बाँडेर (हथौडे भिसामा) मान्छे झिकाउँछन् ।’ हाल दूतावासको शरणमा रहेका १३ जनामध्ये ११ जना यस्तै हथौडे भिसाका पीडित हुन् ।
यहाँका कार्यरत व्यक्तिहरूबाट यस्ता तनुवा भिसा पाएपछि नेपालमा रहेका कामदारहरू यता आउनुपूर्व मेनपावर एजेन्सीहरूलाई ५ देखि १० हजारसम्म तिरेर रोजगार सम्झौता, श्रम स्वीकृति लगायातका कागजातहरू प्राप्त गर्छन् । यी कागजातहरू धेरैजसो अवस्थामा नक्कली हुने गरेको पाइएको छ । यहि कारण कामदारहरूसँग एउटा कम्पनीको भिसा र अर्को कम्पनीको श्रम सम्झौता हुने गरेको पाइन्छ । यसरी प्राप्त गरेको रोजगार सम्झौतामा उल्लेख भए बमोजिम सुविधा यहाँ नपाएपछि उनीहरू दूतावासको शरणमा आउँछन् । उनीहरूको कामजात नै किर्ते भएपछि श्रम अदालतमा उनीहरूको हक दावी पनि कुन काजगातका आधारमा गर्ने भन्ने समस्या रहन्छ । यस्ता पीडितहरू अन्यभन्दा बढि रहेको दूतावासको तथ्यांकले देखाउँछ ।
व्यक्तिगतरुपमा तनुवा भिसा भन्दै कागजात प्रमाणित नै नगरी भिसा पठाएर कामदार झिकाउनु कानुनसम्मत होइन । कतारमा कार्यरत आफन्त र एजेन्टहरुले भिसा निकालेर तनुवा भिसामा कामदार मगाउँदै आएका छन् । यसवारेमा स्पष्ट मापदण्डको अभावमा धेरै दुविधाहरू पनि रहँदै आएका थिए । यसरी कामदार ल्याउँदा द्विविधाहरू पनि हटाउने र कानुनसम्मत हुनेगरी मापदण्ड पनि तय गर्ने उद्देश्यले नेपाली दूतावासले कतारस्थित नेपाली समाजका प्रतिनिधिहरुस“ग गत विहिवार विशेष छलफल गरेको छ ।
व्यक्तिगतगत रुपमा कामदार झिकाउन पाउने प्रकृयालाई सरल र कानुनी दायरामा ल्याउनका लागि दूतावासले सो छलफलबाट केहि मापदण्डहरू निर्धारण पनि ग¥यो । कामदार मगाउने कम्पनी वा ब्यक्तिले नेपालबाट आउने कामदारको प्रवेशाज्ञा (भिसा) र राहदानी (पासपोर्ट)को फोटोकपी, कामदारको रोजगार सम्झौताको कपि, दूतावासमा कागजात पेस गर्ने प्रतिनिधिको मान्य कतारी परिचय पत्रसहित दूतावास कतारी रियाल ६० शुल्क बुझाई कागजात प्रमाणिकरण गर्नुपर्नेछ । दूतावासले कागजात प्रमाणिकरण तत्कालै गरिदिने प्रतिबद्वता जनाएको छ । यो काम अन्य कम्पनीमा कार्यरत ब्यक्तिले भने गर्न पाउने छैनन् । ‘सवैलाई यो काम गर्न दिने भनिएको होइन, सम्बन्धित कम्पनीको कामदारले मात्रै यसरी कामदार झिकाउन पाउँछ’ एक कम्पनीको कामदारले अर्को कम्पनीको भिसा पठाउनबाट भने रोकिने राजदूतले बताए ।
यी मापदण्ड अनुसार ब्यक्तिगत भिसाका लागि कतारमा जिम्मा लिने कम्पनी वा उसको आधिकारिक प्रतिनिधिले दूतावासबाट कागजात प्रमाणीकरण गरेर पठाएपछि रोजगारीका लागि आउने कामदारले म्यानपावर कम्पनी वा एजेन्टको भर पर्नु नपर्ने राजदूतले स्पष्ट पारेका छन् । यी मापदण्डमा आधारमा कामदारले यता आउनुपर्व आवश्यक प्रकृयाहरू वैदेशिक रोजगार बिमा, स्वास्थ्य परीक्षण, अभिमुखिकरण तालिम, वैदेशिक रोजगार कल्याण कोषमा रकम जम्मा गर्ने र वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिने लगायतका काम स्वयंले नै गर्न सक्नेछन् ।
यो मापदण्ड दूतावासले मे १ देखि लागु गर्दैछ । कार्यान्वयनका लागि दूतावासले परराष्ट्र र श्रम मन्त्रालयलाई पत्राचार पनि गरिसकेको छ । केहि अन्यथा रायसुझाव भएमा कार्यान्यवन मिति अगावै पठाउन पनि दूतावासले आग्रह गरेको छ । यस किसिमको काममा दूतावासले गत आइतवारबाट यिनै मापदण्डलाई आधारमा बनाइसकेको छ । यहाँको मापदण्ड पुरा गरेको अवस्थामा सहज किसिमले श्रम स्विकृति दिलाउनका लागि सम्बन्धित निकायसंग आवश्यक समन्वय र पहल पनि दूतावासले गर्ने राजदूतले बताएका छन् ।
यी नयाँ मापदण्डहरूले सरकारी राजस्व गुम्न नदिने, सरकारले तोकेको न्युनतम तलवमान कायम गर्न, कामदारको आगमन खर्च मितब्ययी बनाउन र सुरक्षित आप्रवासन गर्न सहयोगी हुने राजदूतको ठहर छ । यसले ब्यक्तिगत अवैधानिक भिसा कारोबार निरुत्साहित भई संस्थागत भिसाबाट आउने क्रम बढ्ने पनि उनले बताए । ‘यदि कुनै पनि प्रतिकुल अवस्थाका कारण कामदारलाई उद्दार गर्नुप¥यो भने पनि सम्बन्धित कम्पनीबाट नै गराउन सकिन्छ जसले गर्दा टिकट र ख्रुज उपलब्ध गराउनमा नेपाली एजेन्टले खर्च गर्दै आएको रकम जोगाउन सक्छन्’ राजदूतले भने– ‘एक नेपालीलाई उद्दार गर्दा अर्को नेपालीको खर्च नहोस्, त्यो खर्च सम्बन्धित कम्पनीले नै ब्यहोरोस् भन्ने पनि हाम्रो आशय हो ।’
कतारस्थित नेपाली समुदायका पदाधिकारीहरू र श्रमिकजनले दूतावासका नयाँ मापदण्डलाई हार्दिकतापुर्वक स्वागत गरेका छन् । उनीहरूले यसको प्रभावकारी कार्यान्वयनका पक्षमा जोड दिँदै विगतका सरकारी उदासिनताप्रति चिन्ता ब्यक्त गरेका छन् । कतारको आन्तरिक मामिला मन्त्रालयले भिसा सिस्टम अनलाइन प्रणालीमा राखेकोले यहाँ भिसा पाएकाहरुले कामदारलाई नेपालबाट प्रिन्ट झिक्न लगाई बाँकी कागजात नक्कली भिडाएर पठाउने गर्दै आएकोमा समुदायका पदाधिकारीहरूले सरकारलाई त्यसतर्फ चनाखो रहन र यहाँबाट दूतावासले प्रमाणित गरेको काजगातलाई पनि अनलाइनमार्फत नै वा अन्य कुनै माध्यमबाट तत्काल पठाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
दूतावासबाट प्रमाणीकरण गरेर ब्यक्तिगत भिसामा कतार आउनेहरू हुँदै नभएको भने होइन । विगतमा पनि यो प्रकृया रहेको थियो । एक वर्Èमा १ सय जनाजति सोही प्रकृयाबाट आएको तथ्यांक दूतावाससंग रहेको छ । ‘हरेक महिना ४ हजारको हाराहारीमा यसरी आएका कामदारहरूमध्येबाट १ बर्षमा १ सय जनामात्रै प्रमाणिकरण गर्न आउनु निकै न्युन हो’ राजदूतले भने ।
सन् २०२२ को फुटवल विश्वकप आयोजनाको पृष्ठभुमिमा यहाँको बढ्दो मागका कारण बर्षको १ लाख कामदार थपिने सम्भावनालाई आधार मान्ने हो भने ५ बर्षमा यहाँ नेपाली कामदारको संख्या कमसेकम दोब्बर हुने राजदूतको प्रक्षेपण छ । ‘हामीले यो क्षेत्रलाई ब्यवस्थित गर्न सक्यौं र कामदारको सुरक्षित आप्रवासनलाई सुनिश्चित गर्न सक्यौं भने यो बरदान सावित हुनेछ तर यदि आउनेहरूलाई ब्यवस्थित गर्न सकिएन भने यो अभिसाप पनि बन्नसक्छ’ राजदूतको तर्क छ । नेपाली एजेन्टहरूले कालोसुचीमा राखिएका कम्पनीहरूमा पनि कामदार ल्याएर समस्या बढाएकोमा उनले सचेत गराएका छन् । ‘यस्ताहरू दूतावासको उपेक्षा गरेर आएका छन्’ राजदूतले भने– ‘उनीहरूलाई कानुनी दायरामा ल्याउनै पर्ने हुन्छ, अन्यथा यो क्षेत्र अब्यवस्थित हुन्छ ।’ कतारको श्रमऐनमा उल्लेख भए बमोजिम कामदारको दुईतर्फी हवाई टिकट र भिसा कम्पनीले निशुल्क उपलब्ध गराउनुपर्ने हुन्छ । यद्यपि मेनवापर एजेन्सीहरूले उल्टै कमिशन दिएर कामदारको माग बटुल्नमा प्रतिस्पर्धा गर्ने हुँदा कामदारले ठुलै रकम बुझाएपछि मात्रै बैदेशिक रोजगारयात्रा तय गर्नसक्ने परिपाटी बन्दै आएको छ ।
बैदेशिक रोजगारीमा ब्यक्तिगतरुपमा भिसा पठाएर कामदार झिकाइने विषयका सम्बन्धमा कानुन र मापदण्डको रिक्तता रहेको र अव पुरा हुने भएको विज्ञहरूको ठहर छ । यो मापदण्डहरु नेपाली दूतावासको पहलमा नेपाल सरकारले केहि समयअघि तोकेको न्युनतम तलवमानको प्रभावकारी कार्यान्वयनमा पनि सहयोगीसिद्व हुने उनीहरूको धारणा छ । डा. मिश्रले पनि यो धारणामा सहमति जनाउँदै आफ्नो आशय नि त्यहि रहेको समेत उल्लेख गरेका छन् । यी नयाँ मापदण्ड लागु गर्नका लागि सवैको सहयोग–समन्वयका लागि पनि राजदूतले अपिल गरेका छन् । ‘तपाईँहरूले नैतिक समर्थन दिनुभयो भने यो मेरो कार्यकाल सकिएर फिर्ता जानुभन्दा अगावै कार्यान्वय भइसक्छ’ राजदूतले भने । कतारमा उनको कार्यकालको अव अन्तिम ६ महिना बाँकी रहेको छ ।
‘यो मेरो कार्यकायको पछिल्लो र सम्भवतः निकै महत्वपुर्ण पहल हो, यसको सहि–असल कार्यान्वयन भयो भने मेरो कार्यकाल सफल भएको ठान्नेछु’ समुदायका पदाधिकारीहरूमाझ राजदूत डा. मिश्रले भने– ‘कतारमा श्रम गर्न गएका नेपालीजनको हकहितमा केहि गर्न सकें भनेर मनमा पनि जीवनभर आत्मसन्तुष्टि हुनेछ ।’
गत बर्ष साउनबाट चैतसम्म कतार आउनेको तथ्यांकः
महिना संस्थागत श्रम स्विृकति ब्यत्तिगत श्रम स्विकृति कुल
साउन २०११ ३७१५ ५७२६
भदौ १७१७ ३५२२ ५२३९
असोज १९५८ ३२२३ ५१७१
कर्तिक १९३४ ४५३६ ६४७०
मंसिर १६६३ ३६७४ ५३४७
पुष ४६९२ ४९३५ ९६२७
माघ ७३७९ ३७१९ ११०९८
फागुन ३०४० ४४११ ७४५५
No comments:
Post a Comment