7/08/2011

स्वास्थ्य माफियाहरूको नौटंकीले कामदार मारमा

स्वदेशको मेडिकलमा पास भएर गएका कामदारहरू रोजगारदाता मुलुकमा अनफिट भई फर्किनुपर्ने समस्या ज्यूँ का त्यूँ छ । मेडिकल सेन्टरको लापरवाहीका कारण धेरै नेपाली कामदारले अनेकौं झण्झट व्यहोर्नु परेको छ । स्वास्थ्य व्यवसायीको खोल ओढेर मेनपावरको दलाली गर्न पल्किएकाहरूको गैर जिम्मेवारीपनले धेरै कामदारको लगानीसमेत डुबेको छ ।
उसै त स्वदेशको मेडिकलमा पास र विदेशमा फेलको बिल्ला भिरेर फर्किन बाध्य कामदारहरू पछिल्लो समय गाम्का र नेपाल स्वास्थ्य व्यवसायी महासंघको दोहोरो चेपुवामा परेका छन् । नेपाल स्वास्थ्य व्यवसायी महासंघले गाम्कामा सुचिकृत ७ वटा स्वास्थ्य संस्थामा विहिबारदेखि गरेको अनिश्चिकालिन तालाबन्दी र यसको बिरोधमा गाम्का गरेको बन्दका कारण विदेश जाने धेरै कामदार समस्यामा परेका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब र ओमानमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पछिल्लो पटक गाम्काबाट सूचिकृत भएका ति स्वास्थ्य संस्थाहरु सरकारबाट स्वीकृति नपाएको भन्दै महासंघले अनिश्चित तालाबन्दी गरेको जानकारी दिएको छ ।
महासंघले ति स्वास्थ्य संस्थाहरु अवैध रुपमा सञ्चालनमा रहेकोले कारवाही गर्न स्वास्थ्य मन्त्रालयलाई बारम्बार अनुरोध गर्दा पनि बेवास्ता गरेकोले आन्दोलनका कार्यक्रम अन्तर्गत तालाबन्दी गरेको जनाएको छ । जिसिसिले गत वैशाख २६ गते लाइफ ट्रष्ट मेदि डाइग्नोष्टिक, मेदिसिया डाइग्नोष्टिक सेन्टर, अल मसुर डाइग्नोष्टिक सेन्टर, साइबा मेडिकल सेन्टर, रजाम मेडिकल सेन्टर, अलखालिज मेडिकल सेन्टर, र अक्वा डाइग्नोष्टिक सर्भिसेजलाई सुचिकृत गरेको थियो ।
मापदण्ड नपुगेका स्वास्थ्य संस्थाहरुलाई जिसिसिले स्वीकृति दिएको भन्दै महासंघले चरणवद्ध आन्दोलन गरिरहेको छ । उता, जिसिसिमा आवद्ध स्वास्थ्य संस्थाहरुले भने महासंघले आफ्नो कर्तुत लुकाउन आन्दोलनको नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन् । हालसालै जिसिसिबाट स्वीकृति पाएका एक मेडिकल सेन्टरका सञ्चालकले नाम उल्लेख नगर्ने शर्तमा भने, महासंघका अध्यक्ष लगायतका केही पदाधिकारीहरुले जिसिसिमा आवद्ध गराउने आश्वासन दिदै केही स्वास्थ्य संस्थाबाट रकम असुलेका छन् ति स्वास्थ्य संस्थाले स्वीकृति नपाएपछि महासंघले आन्दोलनको प्रपञ्च बुनेको हो ।  
उता, महासंघका अध्यक्ष खड्गबहादुर श्रेष्ठले मापदण्ड विपरित सञ्चालित यस्ता स्वास्थ्य संस्थाहरु खारेज नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । उनले वैदेशिक रोजगार ऐन २०६४ विपरीत वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पैसाको आडमा टिकेको आरोप पनि लगाए । त्यस्तै, पछिल्लो पटक गाम्काबाट स्वीकृति पाएका साइबा मेडिकल सेन्टरका अब्दुल सतारले महासंघका पदाधिकारीहरुले वैदेशिक रोजगार ऐन नै नबुझेको धारणा राखेका छन् । महासंघभित्रको आर्थिक अनियमितता लुकाउन महासंघले आन्दोलन गरिरहेको भन्दै उनले भने – ७ वटै स्वास्थ्य संस्था वैदेशिक रोजगार ऐन २०६४को ७२ (१) अनुसार सञ्चालित छन् ।

No comments:

Pages