8/20/2011

बल्ल खुल्यो इजरायल

काठमाडौँ । लामो समयदेखि अन्यौलमा रहेको इजरायल रोजगारी अन्ततः खुल्ने पक्का भएको छ । इजरायलले नेपाली कामदारलाई पुनः रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको समाचार प्राप्त भएको छ । इजरायल सरकारले नेपाली कामदार लिने निर्णय गरेको नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार कियर गिभर र कृषिका लागि काम सय वटा भिसा समेत जारी भएको छ ।
केयर गिभर र कृषि मजदुरका निम्ति सुरक्षित र आकर्षक गन्तव्यका रूपमा रहेको इजरायल मेनपावर व्यवसायीहरूको गलत रवैयाका कारण २००९ अप्रिलमा बन्द भएको थियो । केही व्यवसायीले धेरै रकम असुल्ने, हिब्रु भाषा र काम नजानेकालाई पनि नक्कली कागजात बनाएर पठाउने गरेकाले इजरायल सरकारले नेपाली कामदार लिन बन्द गरेको थियो ।
इजरायल खुलेपछि अवसर खुलाउन सरकारी स्तरमा पटक–पटक भएका छलफल परिणाममुखी बनेको भन्दै परराष्ट्र मन्त्रालयका अधिकारीहरूले अब पुरानै घटना दोहोरिन नदिन कदम चाल्नुपर्ने बताउँछन् । यसैबीच, परराष्ट्र मन्त्रालयका प्रवक्ता दुर्गाप्रसाद भट्टराईले नेपाली कामदारलाई पुनः कामको अवसर दिने इजरायली सरकारको निर्णयको पुष्टि गर्दै शीघ्र कार्यारम्भ हुने जानकारी दिएका छन् । इजरायलमा हाल सात हजार नेपाली कामदार छन् । त्यसमध्ये ९० प्रतिशत कामदार महिला छन् ।

No comments:

Pages