7/31/2011

विदेश जान दलाल खोज्दै हुनुहुन्छ ? पासर्पोट झ्याप पार्देला !

आफूलाई मेनपावरको एजेन्ट भन्दै सोझा बेरोजगार युवाहरुलाई ठग्दै हिड्ने गिरोह राजधानी लगायत मुलुकका विभिन्न भागमा अहिले पनि उतिकै सक्रिय छ । वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन र मेनपावर व्यवसायीले ठगी नियन्त्रण गर्न जतिसुकै तदारुकता देखाए भने पनि यस्ता गिरोहहरुको बिगबिगी बढेको बढ्यै छ ।
यसैक्रममा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० महिनादेखि विभिन्न व्यक्तिको राहदानी जफत गरेर सम्पर्कविहीन भएका एक दलाल प्रहरीको फन्दामा परेको छ । प्रहरीले सो दलालको साथबाट ५३ वटा राहदानीसमेत बरामद गरेको छ । कतारमा ड्राइभरका लागि पठाइदिने भन्दै राहदानी बटुल्दै हिड्ने ललितपुर उपमहानगरपालिका–४ का किरण विगत एक वर्षदेखि कतार पठाउने नाममा राहदानी लिदैं बेपत्ता हुने गरेका थिए । कतार जानका लागि राहदानी बुझाएका सिन्धुपाल्चोक साँगाचोक– ५ का सहिल गिरीको सहित १३ जना पीडितले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धानका लागि थापा र  नियन्त्रणमा लिएका सबै राहदानी वैदेशिक रोजगार विभागलाई बुझाएको छ । पक्राउ परेका थापाले भने आफूले ठगी नगरेको तर सङ्कलित राहदानीको भिसा आउने प्रक्रिया सुरु भएको भन्दै गोहीको आँशु झारेर उम्कने प्रयास गर्दै छन् । आफूलाई धोबीघाटस्थित केएसएल मेनपावरको प्रतिनिधि बताउने थापाले प्रति व्यक्ति २० हजारका दरले १३ जनासँग र १ लाख २० हजार एक जनासँग उठाएको प्रहरीले जानकारी दिएको छ ।
तर, थापाले भने आफूले ठगी नगरेको भन्दै कसैसँग पैसा नलिएको र आफ्नै लगानीमा भिसा प्रोसेस सुरु गरेको बताएका छन् । एक महिनामा भिसा आउँछ भन्दै झुक्याएर हिडिरहेका यी दलाल प्राविधिक कारणले भिसा आउन ढिला भएको बताएर अर्को झुटखेती गरिरहेका छन् । खड्गसिंह आलेमगर नामका एक व्यक्तिसँगको साझेदारीमा मेनपावर सञ्चालन गरको दावी गर्ने उनीमाथि प्रहरीले भने पटक पटक आफ्नो बोली फेरिरहने भएकाले विश्वास गर्ने कुनै आधार नभएको बताएको छ । उनी नेपाली राहदानीमा बंगलादेशी नागरिकलाई विदेश पठाउने गिरोहसँग संलग्न भएको प्रहरीको अनुमान छ । राहदानीखल्तीमा बेरोजगार युवाहरुको पासपोर्ट बोकेर विभिन्न मुलुकमा राम्रो रोजगारी पठाई दिने लोभ देखाई रकम असुल्दै हिड्ने यस्ता गिरोहका गतिविधि प्रति कसैले चासो देखाएको भने पाइदैन । जसका कारण चर्को ब्याजमा ऋण लिएर विदेश जान आतुर युवाहरु दिनप्रतिदिन ठगीका सिकार बनिरहेका हुन्छन् ।

No comments:

Pages