8/01/2011

कुवेतमा मृत्यु भनिएकी जीवितै

वैदेशिक रोजगारीका क्रममा कुवेतमा दुर्घटनामा मृत्यु भएको भनिएकी एक महिला गाउँमा जीवितै छन् ।
२०६६ माघ २७ गते कुवेतमा मृत्यु भएको भनिएकी बाबियाचौर–५ की ४५ वर्षीया शान्ति दर्जीले आफू जीवितै रहेको बताएकी हुन् ।
‘म हालसम्म आप्नै घरमा जीवित रहेकी छु, मृत्यु भएको छैन,’ दर्जीले गाविस सचिव चित्रबहादुर आचार्यलाई लिखित रूपमा जानकारी गराएकी छिन् । उनी जिल्ला प्रशासन कार्यालयबाट जारी २७२१७२१ नम्बरको राहदानी बाहक हुन् ।
कुवेतस्थित नेपाली दूतावासले वैदेशिक रोजगार प्रवर्धन बोर्डमार्फत ०६८ जेठ २३ मा ‘बाबियाचौर–५ की शान्ति दर्जीको शव कुवेतमा फरेन्सीक मेडिकलमा रहेको र नेपाल झिकाउन ९५ हजार रुपैयाँ लाग्ने भएकाले उनका निकटतम व्यक्ति सोमवीर दर्जी हुनरहोइनन् यकिन गरी निकटतम व्यक्तिलाई खबर गर्न’ जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको थियो ।
जिल्ला प्रशासनले बोर्डको पत्रअनुसार दर्जीको खोजी गरी जानकारी गराउन गाविसलाई भनेको थियो ।
‘गाविसले कुवेतमा दुर्घटनामा परी मृत्यु भएको भनिएकी शान्ति दर्जी घरमा जीवित रहेको पुष्टि गरेको छ । सम्भवतः वैदेशिक रोजगारमा कामदार लैजाने एजेन्टहरूले उनको पासपोर्टमा पिसी (एक जनाको तस्बिर हटाई अर्कैको टाँस्ने काम) गरेकाले यस्तो समस्या आएको हो,’ सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारीले भने । 
दर्जीले गाविस कार्यालयलाई दिएको लिखित जानकारीअनुसार उनले उक्त राहदानी कुवेत जान मेडिकल रिपोर्ट पोखरा विमानस्थलमा काम गर्ने आनबहादुर गुरुङकी पत्नीमार्फत गोरखा घर भई काठमाडौंमा डेरा गरी बस्ने नामथर थाहा नभएकी माइली भन्नेलाई मेडिकल रिपोर्टसमेत बुझाएकी थिइन् । राहदानी हात पारेपछि ती महिला फरार भएको दर्जीले बताएकी छन् ।

No comments:

Pages