8/28/2011

श्रम सहचारीले नियुक्ति पाए, काम पाएनन्

 रेजिना नेपाल
काठमाडौं \ श्रम सहचारी नियुक्ति प्रक्रिया फेरी विवादमा फसेको छ । श्रम मन्त्रालयले ६ मुलुकका लागि सहचारी नियुक्ति गरेको दुई साता बित्दा समेत सहचारी पठाउने प्रक्रिया अघि बढेको छैन । यसअघि श्रम, परराष्ट्र र सामान्य प्रशासन मन्त्रालयबीच विवाद चक्रिएपछि परराष्ट्रकै सल्लाहमा मापदण्ड बनाई आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गरिएपनि यसमा परराष्ट्रको असहमति कायमै रहेको छ ।हालसालै नियुक्त भएका सहचारीहरु अमलकिरण ढकाल (मलेसिया), चन्डेश्वर आचार्य (साउदी अरब), कृष्णहरि पुस्कर कर्ण (दक्षिण कोरिया), सिर्जना तिवारी (कुवेत), हिरा पौडेल (युएई) र ज्ञानेन्द्रलाल पाण्डे (कतार) लाई अहिलेसम्म ति मुलुकहरुमा पठाइएको छैन । श्रम सहचारी नियुक्तिमा परराष्ट्र मन्त्रालयको असहमति हुनुको कारण स्पष्ट नभएपनि स्रोतका अनुसार श्रममन्त्री मोहम्मद इस्तियाक राई र परराष्ट्र मन्त्री उपेन्द्र यादवबीचको टकरावका कारण यो स्थिति आएको हो । नियुक्त भएका सहचारीहरुले गत शुक्रबार परराष्ट्र सचिव मदनकुमार भट्टराईलाई भेटी आफूहरुलाई चाँडो काममा खटाउन आग्रह गरेका थिए तर भट्टराई आफू विवादमा आउन नचाहेकाले तत्काल कुनै निर्णय दिन नसक्ने भन्दै पन्छिएका थिए ।
श्रम मन्त्रालयका प्रवक्ता पुर्णचन्द्र भट्टराई सम्बन्धित विषयमा अनुभवी र योग्य कर्मचारीलाई सहचारी नियुक्ति गरिएपनि परराष्ट्रले सहमति नदिएकाले पठाउन नसकिएको बताएका छन् । प्रवक्ता भट्टराईले भने विगतमा जस्तो विवाद नहोस् भनेर मापदण्ड अनुसारनै सहचारी नियुक्ति गरेका हौं ।
तर, परराष्ट्रले किन सहमति दिन चाहेको छैन । यो हामीले पनि बुझ्न सकिरहेका छैनौ । माधवकुमार नेपाल नेतृत्वको सरकारका तत्कालीन श्रममन्त्री मोहम्मद अफताव आलमले मनोमानी ढंगबाट सहचारी नियुक्ति गर्न लागिएपछि अख्तियार अनुसन्धान दुरुपयोग आयोगले फाइल कब्जा गर्दै रोक्का गरेको नियुक्ति प्रक्रिया दुई महिना अघि फुकुवा भएसँगै पुनः सुरु भएको थियो । तर, श्रममन्त्री राईले
वैदेशिक रोजगार ऐन विपरित नियुक्ति अघि बढाएपछि चौतर्फी विरोध भएको थियो । व्यापक विरोधपछि मन्त्री राईले हङकङ र जापानका लागि भने सहचारी नियुक्ति स्थगित गरेपनि बाँकी मुलुकका लागि आफ्नो मान्छे नियुक्ति गर्न दवाव दिइरहेका थिए \

No comments:

Pages