8/22/2011

एक महिनामा १५ हजार नेपाली कामदार कतार पुगे

आर्थिक वर्ष २०६७÷६८ मा रोजगारीका लागि विदेश जाने कामदारको संख्या तीन लाख ५४ हजार ७१६ रहेको छ । आर्थिक वर्ष २०६६÷६७ मा दुई लाख ९४ हजार ९४ नेपाली वैदेशिक रोजगारीमा विदेश गएका थिए । त्यसको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या २०.६१ प्रतिशतले बढी भएको देखिएको छ । गत आर्थिक वर्षमा १० हजार ४ सय १६ महिला वैदेशिक रोजगारीका आगि गएका छन् । अघिल्लो वर्ष पाँच हजार २६० महिला मात्र रोजगारीका लागि विदेश गएका थिए ।
त्यस्तै, वैदेशिक रोजगारीको विषयसँग सम्बन्धित व्यक्तिगत ७ सय २१ र संस्थागत उजुरी ४८३ वटा वैदेशिक रोजगार विभागमा परेको छ । ती उजुरी मार्फत ६४ करोड १३ लाख ९३ हजार ६७ रुपैयाँ माग दाबी गरिएको थियो । १ सय १९ वटा वैदेशिक रोजगार व्यवसाय दर्ता गरिनुका साथै २० वटा वैदेशिक रोजगार कम्पनी खारेजी गरिएको पनि विभागले जनाएको छ ।
२०६८ साउन महिनामा रोजगारीका लागि बिदेशिनेको संख्या पनि उल्लेख्य बृद्धि भएको छ । विभागका अनुसार साउन महिनामा ४५ हजार १ सय ६५ नेपाली कामदार कामको खोजीमा बिदेशतिर लागेका छन् । यो तथ्याङ्क अघिल्लो बर्षको साउनको तुलनामा ५२ दशमलब १५ प्रतिशतले बढी हो । अघिल्लो साउनमाभन्दा यस बर्ष थप १५ हजार ४ सय ८० कामदार बिदेशिएका छन् । यो तथ्याङ्क हालसम्मकै उच्च रहेको विभागको भनाई छ ।
विभागका अनुसार गत बैशाखदेखि बिदेश जाने कामदारको संख्यामा लगातार बृद्धि भइरहेको छ । हरेक महिना अघिल्लो महिनाको भन्दा बढी कामदार बिदेशिएको रेकर्ड कायम भइहरेको छ । असारमा ४४ हजार ७ सय १५ नेपाली कामदार रोजगारीका लागि बिदेशिएका थिए । अघिल्ला महिनाहरूमा जस्तै साउनमा सवैभन्दा बढी कामदार कतार गएका छन् । सन् २०२२ मा कतारमा हुन लागेको बिश्वकपका लागि पूर्वाधार निर्माणको काम तीव्र भएकाले कामदारको माग बढेको बताइएको छ । साउनमा कतारमा १५ हजार ७ सय २, मलेसियामा ९ हजार ६ सय ७२, साउदी अरवमा ८ हजार ५ सय ३८, युएईमा ६ हजार ८ सय ७३ र कुवेतमा ८ हजार ८ सय ८८ नेपाली कामदार गएका छन् ।

No comments:

Pages